विश्वकप क्रिकेटमा हारेपनि इमरानले कायम गरे नयाँ रेकर्ड

जारी विश्वकप क्रिकेटबाट दुई खेल खेल्न बाँकि हुदै दक्षिण अफ्रिका सेमिफाइनलको दौडबाट बाहिरिएपनि स्पिन बलर इमरान ताहिरले भने नयाँ रेकर्ड बनाएका छन् ।

पाकिस्तानविरुद्ध २ विकेट लिदै ताहिरले विश्वकपमा दक्षिण अफ्रीकाको तर्फबाट सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन् ।

पाकिस्तानमा जन्मिएका ४० बर्षिय ताहिरले विश्वकपमा ३९ विकेट लिदै सो रेकर्ड बनाएका हुन् । सन् २०११, २०१५ र २०१९ गरी ३ विश्वकप खेलेका ताहिरले विश्वकपको २०औ खेलमा ३९ विकेट लिएका हुन् ।

उनले यस अघि चार विश्वकपका २५ खेल खेलेर ३८ विकेट लिएका एलेन डोनाल्डको रेकर्ड तोडेका हुन् । डोनाल्ड सन् १९९२ देखि २००३ सम्म गरी चार विश्वकप खेलेका थिए । त्यस्तै १९९६ देखि २००७ सम्म चार विश्वकपका ३१ खेल खेलेका शान पालाकले विश्वकपमा ३१ विकेट लिएका छन् ।

विश्वकपमा धेरै विकेट लिने रेकर्ड भने अहिलेसम्म अस्ट्रेलियाका ग्लेन म्याग्राको नाममा रहेको छ । सन् १९९६ देखि २००७ सम्म गरी चार विश्वकप खेलेका म्याग्राले ३९ खेलमा कुल ७१ विकेट लिदै विश्वकपमा धेरै विकेट लिने रेकर्ड बनाएका छन् । प्रतियोगितामा पाकिस्तानसँगको खेलमा हार बेहोरेसँगै दक्षिण अफ्रीकाको सेमिफाइनल पुग्ने संभवाना भने सकिएको छ।