पोखरामा बिहीबारदेखि छैटौं महिला तथा सातौं पुरुष विच भलिबल प्रतियोगिता शुरुभएको छ । बिहीबार घरेलु कोर्टमा गण्डकी प्रदेशले जित र हार दुवै व्यहोरेको छ । पुरुष तर्फ जित निकाल्दा महिला तर्फ भने गण्डकी प्रदेश पराजित हुन पुगेको छ ।
उदघाटन खेलमा महिला तर्फ शसस्त्र प्रहरी बलको ए टोलीले प्रदेश–५ लाई सोझो सेटमा पराजित गरेको छ । एपीएफको ए टोलीले २१–१३ र २१–४ को सोझो सेटमा पराजित गर्दै जितको शुरुवात गरेको हो । यसैगरी महिला तर्फ नै पुलिस एले अर्को विभागीय क्लब शसस्त्र प्रहरी बलको बी टोलीलाई २१–६, २१–१२ को सेटले पराजित गरेको थियो ।
महिला तर्फ नै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले प्रदेश नं ३ लाई सोझो सेटमै पन्छाएको छ । आर्मीले २१–१३ र २१–६ को सेटमा पराजित गर्दै सुखद नतिजा आत्मसात गर्यो । नेपाल पुलिसको बी टोलीले गण्डकी प्रदेशलाई पनि २१–१४ र २१–१५ को सेटमा पराजित गरेको थियो । पुरुष तर्फको प्रतिस्पर्धामा भने गण्डकी प्रदेशले नेपाल पुलिसको बी टोलीलाई २१–१२, २१–१२ को सेटमा पराजित गरेको छ । त्रिभुवन आर्मीले कर्णाली २१–५, २१–१३ को सेटमा पराजित गरेको थियो ।
कास्की जिल्ला भलिबल संघको व्यवस्थापन,नेपाल भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा महिला तर्फ १४ र पुरुष तर्फ १७ टोलीले प्रतिस्पर्धा गरेका छन् । खेल लिगकम नकाउटको आधारमा खेलाईएको छ । पोखराको बाराही खेल मैदानमा निर्मित विच कोर्टमा आयोजित प्रतियोगिताको नेकपाका सह अध्यक्ष पुष्पकमल दाहालले उदघाटन गरेका थिए ।
उदघाटनसँगै अध्यक्ष दाहालले खेलकुदलाई एकताको आधारसँगै समृद्धिको माध्यमको रुपमा हेर्नुपर्ने भन्दै सरकारले अझै पनि खेलकुद क्षेत्रलाई ध्यान दिन नसकेको स्पष्ट पारे । नेपाल भलिबल संघकै क्यालेण्डर अनुसार विच भलिबललाई प्रोत्साहन र प्रवद्र्धनसँगै दक्षिण एशियाली खेलकुद प्रतियोगिताको लागि खेलाडी छनोट गर्ने उद्देश्यसहित असार ५ गतेदेखि ७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए ।
सातै प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको छ । विजेता महिला तथा पुरुष टोलीले समान नगदराशी ३०÷३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । दोस्रो हुने दुवै टोलीको हकमा भने २०÷२० हजार र तेस्रो हुने टोलीको भागमा भने १०÷१० रुपैयाँ पर्ने छ । उत्कृष्ठ खेलाडीद्वयलाई पनि नगद ३÷३ हजार रुपैयाँ प्रदान गरिने छ ।
kheladinews.com





