ताजा समाचार

असार ५ गते २०७६

वार्नर चम्किंदा बंगलादेशलाई ३ सय ८२ रनको फराकिलो लक्ष्य

डेभिड वार्नरको शतकमा आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले बंगलादेशलाई ३ सय ८२ रनको विशाल लक्ष्य दिएको ।

ट्रेण्ड ब्रिजमा टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३ सय ८१ रन पूरा गर्‍यो । अष्ट्रेलियाका लागि डेभिड वार्नरले शतकीय पारी खेले । १४७ बल खेलेका उनले १४ चौका र ५ छक्काको सहयोगमा १६६ रन पूरा गरे ।

त्यस्तै उश्मान ख्वाजा र कप्तान एरोन फिंचले अर्धशतकीय पारी खेले । ७२ बल खेलेका ख्वाजाले १० चौकाको सहयोगमा ८९ रन बनाए । ५१ बल खेलेका एरोनले ५ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाए । अष्ट्रेलियाका लागि ग्लेन म्याक्स्वेलले ३२ रनको योगदान गरे ।

बलिङतर्फ बंगलादेशका लागि सौम्य सरकारले सर्वाधिक तीन विकेट लिए । त्यस्तै मुस्ताफिजुर रहमानले एक विकेट लिए ।

आजको खेलमा अष्ट्रेलिया बंगलादेशलाई हराउँदै शीर्ष स्थानमा उक्लिने योजनामा छ । यता बंगलादेश अष्ट्रेलियालाई पराजित गर्दै भारतसँग अंक बराबरी गर्ने योजनामा छ ।

दुबै टोलीबीचको पछिल्लो पाँच खेलमा अष्ट्रेलियाले तीन खेलमा जित निकालेको छ । बंगलादेशले एक खेलमा जित निकालेको छ । दुई टोलीबीचको एक खेल रद्द भएको छ ।