ताजा समाचार

असार ४ गते २०७६

प्रधानमन्त्री कप महिला क्रिकेटमा गण्डकीको हार

कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बुधबारदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो । गण्डकीका शिला रेग्मीले १९ र सुशीला गुरुङले १७ रन बनाइन् । सुदूरपश्चिमका तर्फबाट कविता कुँवर, लक्ष्मी साउद र जानकी भट्टले समान २ विकेट तथा कविता जोशीले १ विकेट लिएका थिए । गण्डकीका ३ खेलाडी रन आउट भए ।

लक्ष्य पूरा गर्न ब्याटिङमा उत्रेको सुदूरपश्चिमले १ विकेट गुमाएर निर्धारित २० ओभरको खेलमा ७ ओभरमै लक्ष्य भेटाएको थियो । सुदूरपश्चिमका तर्फबाट कविता कुँवरले २१ तथा कविता जोशी र रेवती धामीले समान १२ रन बनाए । गण्डकीका तर्फबाट मनिषा उपाध्यायले १ विकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच कविता कुँवर बनिन् ।