नवौं राष्ट्रिय खेलुकद प्रतियोगिताको जिम्मेवारी पाएको गण्डकी प्रदेशलाई आवश्यक पुर्वाधार तयारको लागि युवा तथा खेलकुद मन्त्रालयले बजेट छुट्टाएको छ ।
कास्कीसहित अन्य विभिन्न जिल्लामा रहेका कभर्ड हलको मर्मत सम्भार एवं रंगशालाको स्तरोन्नति गर्ने शीर्षकमा मन्त्रालयले बजेट छुट्टाएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको हो ।
मन्त्रालयले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानको स्तरोन्नतिसँगै पवेलियन निर्माणको लागि ३ करोड रुपैयाँ छुट्टाइएको छ । छुट्टाईएको रकम पोखराको क्रिकेट इतिहासमै सबैभन्दा ठूलो बजेट समेत हो । क्रिकेट मैदानलाई अन्तराष्ट्रियस्तरको बनाउन उद्देश्यसहित मन्त्रालयले बजेट उपलब्ध गराई चेन्जिङ रुम तथा शौचालयसहितको सुविधायुक्त पवेलियन बनाउने योजना छ ।
पुर्वाधारकै अभाव रहेको सुटिङ रेन्ज निर्माण गर्नुपर्ने खाँचो छ । पोखरा रंगशालाभित्रै सुटिङ रेन्ज निर्माण गर्ने योजना पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको छ । सुटिङको पुर्वाधार तयार पार्न मन्त्रालयले ५० लाख रुपैयाँ छुटाएको समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले सुनाए ।
उनले भने–‘रंगशालाभित्रै रहेको व्याडमिन्टन हललाई मर्मत सम्भार गरी सुटिङ रेन्ज बनाउने प्रारम्भिक योजना छ ।’ त्यो नभए सँगै रहेको सानो कभर्ड पनि उपयुक्त हुने देखिन्छ । ‘सानो कभर्ड हल १० मिटर चौडाई र १५ मिटर लम्बाईको छ ’ उनले भने–‘दशमिटर एयर पेस्तोलको प्रतिस्पर्धा गर्न सकिन्छ ।’ नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भने १० मिटर एयर पेस्तोलको प्रतिस्पर्धा गराईएको थियो ।
मन्त्रालयले निर्माणाधिन व्याडमिन्टन हलको लागि समेत ५० लाख रुपैयाँ छुट्टाएको छ । साढे तीन करोडको योजना रहेको कभर्ड निर्माणमा कास्की जिल्ला व्याडमिन्टन संघ र राष्ट्रिय खेलकुद परिषदले आधा आधा लागत व्यहोर्ने गरी सम्झौता गरिएको छ । परिषदले मन्त्रालय मार्फत हलको लागि हालसम्म १ करोड १० रुपैयाँ उपलब्ध गराईसकेको छ । नवौं राष्ट्रिय खेलुकद प्रतियोगिताको पुर्वाधार तयार पार्न अन्य विभिन्न जिल्लामा समेत बजेट छुट्टाईएको छ । नवलपुरको कावासोतीस्थित कभर्ड हलको लागि ४० लाख रुपैयाँ छ ।
गोरखामा कभर्डहलको लागि ४० लाख, मुस्ताङमा कभर्ड हलको लागि ४० लाख, मनाङमा कभर्ड हल निर्माण गर्न ४० लाख, म्याग्दीस्थित बेनी रंगाशालाको स्तरोन्नति गर्न ४० लाख, तनहुँ दमौलीस्थित खेल मैदानको लागि ४० लाख, पर्वत कुष्माको कभर्ड हलको लागि ४० लाख, स्याङजा कभर्ड हलको लागि ४० लाख,बाग्लुङस्थित बाङ्गेचौर खेलमैदानको लागि ३० लाख, बाग्लुङस्थित कभर्ड हलको लागि ५० लाख रुपैयाँ, लमजुङस्थित कभर्ड हलको लागि ३० लाख , स्याङजा चापाकोट खेल मैदानको लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
नवौं राष्टिङय खेलकुद प्रतियोगिताको पुर्वाधार भन्दा बाहिर पनि मन्त्रालयले विभिन्न शीर्षकमा बजेट राखेको छ । पोखरा महानगरपालिका वडा न २३ वाम्दीमा भलिबल कोर्ट निर्माण गर्न ५० लाख रुपैयाँ छुट्टाईएको छ । साहसिक तथा पर्वतीय खेलकुद विकास र योजना तर्जुम ागर्न १ करोड रुपैयाँ छ । त्यतिमात्रै नभई पोखरामा वर्षेनी भुतपुर्व खेलाडी मन्च नेपालले आयोजना गर्ने पोखरा म्याराथनलाई ३ लाख रुपैयाँ अनुदान दिने उल्लेख छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीद्वारा आयोजना गरिने आमन्त्रित प्रतियोगिताको लागि ३० लाख रुपैयाँ छ । अन्नपूर्ण म्याराथन ३ लाख रुपैयाँ विनियोजन भएको छ । पोखरा महानगरपालिका–२९ भण्डारढीक रंगशालाको लागि २५ लाख रुपैयाँ, भीमाद रंगशाला तनहुँलाई २५ लाख रुपैयाँ बजेट राखिएको छ ।
kheladinews.com





