भ्रष्टाचार हटाउन नेताको दिमाग सर्जरी

निजामति सेवा भनेको बेस्ट ब्रेनलाई वर्स्ट ड्रेनमा जाकिएको प्रशासन प्रणाली हो, निजामति भित्र पनि बेस्ट अफ द बेस्ट ब्रेन भनेका प्राविधिज्ञ वर्ग हुन् । तर जे जस्तो भएता पनि यसैले गर्दा नै आजसम्म पींद नभएको लोटा जस्तो अस्थिर भॉडभैले राजनीतिक व्यवस्थाका अनेक रूप र रंगबाट मुलुकलाई ध्वस्त हुनबाट निरन्तर जोगाउदै आएको हो । भलै राजनीतिक सकारात्मक परिवेश र अनुकूल कार्यसंस्कृति एवं वातावरण कहिले विद्यमान नहुंदा यसले नयॉ केही वनाउन सकेन र सकिरहेको छैन ।

नेपालको जागिरेहरूको तलब र अन्य सोसल सेक्युरिटी निजामति सरकारी सेवा भन्दा संस्थान, निजी, शिक्षण चिकित्सामा झन बढी खराब र शोषित छन् । सरकारी सेवाको मेरूदण्ड वा मियो निजामति सेवा हो । मेरूदण्ड रोगी तिरस्कृत भैरहदॉ वा यसलाई हेप्दा/हेपिने अवस्था मैं निरन्तरता दिनुपर्ने भन्ने आग्रह गर्ने र खेद्नेहरूले के राम्ररी बुझून् भने तपाईको मेरूदण्ड कुप्रिएको छ भने अन्य अंग बलिष्ट सुन्दर कहिल्यै हुदैन र बन्दैन । मेरूदण्ड सबल भयो भने मात्र उसले अन्य सबै सेवालाई थाक-ठॉउमा राखेर नियमन नियन्त्रण र अनुशासित पार्दै अन्यलाई शोषणबाट मुक्त गर्ने प्रयास गर्नेछ । नत्र सबै सरकारी संस्थान निजी क्षेत्रका सेवाका जागिरेहरूको हालत झन् झन बदत्तर हुदै रहने पक्का छ ।

मुक्तिदाता मानिने निजामति सेवा नै कुप्रिएको छ भने अरू ईतर-सेवाकाले कुनै अपेक्षा नगर्दा बेस ! भ्रष्टाचार व्यक्तिगत हैन सामाजिक रोग हो । व्यक्तिगत रोग भएको हुन्थ्यो भने भ्रष्टाचार निवारण धेरै सजिलो हुने थियो र राज्यका यतिका भ्रष्टाचार नियन्त्रण गर्न गठित राज्य संयन्त्रहरू निकम्मा भैरहने/हुने थिएनन् । भ्रष्टाचार नियन्त्रणका नाममा गठित राज्यका विभिन्न संस्थाहरू ब्यक्ति नियन्त्रण तिर हैन कि , राज्य कार्यसंस्कृति तथा संयन्त्र ईमानदार बनाउने जुक्ति विकसित गरेर लागू गर्ने तिर लाग्नुपर्छ । नीति , रणनीति , कार्यनीति, संगठन संस्कृति पद्दति, पारदर्शिता ,जवाफदिहीता, भ्रष्टाचार विरूद्धको जनचेतना, करप्सन पर्सेप्टन अध्ययन कार्य र स्वच्छ निकायहरूलाई प्रोत्साहन गर्ने र भ्रष्टाचार के गर्दा कम हुन्छ त्यसो सर्च सर्टिफिकेसन गर्ने काममा ईनोभेटिभ भएर लाग्नुपर्ने हुन्छ ।

लामखुट्टे र झिंगा समाउने/मार्ने काम गरेर पार लाग्दैन र ती लामखुट्टेहरू पनि यिनै निकायमा बराबर सरूवा भईरहेका हुन्छन् जसका विगतका रंगढंग सबैले थाहा पाईसकेकै हुन्छन् । एउटा चोरले अर्को चोर समाएको मात्र हो भन्ने जनभावनामा सत्यता छ । चोरको पछि हैन, चोरी प्रोत्साहित गर्ने समाज र राज्य संयन्त्रप्रति गिदी खियाउनुपर्छ । संस्कारसंस्कृतिबिहीन जनप्रतिनिधिले मुलुकलाई सही बाटो लैजाने कल्पना गर्नु मूर्खता हो। कोही मेयर डोजरमा पत्रकार साथ लगाएर खोलामा जाक्छन्, कोही मेयर बोक्सी झार्न ज्यान फाल्छन्, कोही अफिसमैं जॉड धोकेर डुंगडुंग्ति गन्हाउछन्, कोही तस्करी तथा मानव बेचविखन व्यावसाय गर्छन्। कोही विजुली चोर्छन्, कोही वलात्कारी छुटाउन पुग्छन् !

नैतिक चरित्रमा दाग लाग्नासाथ नेताहरूलाई पदमुक्त वा निलम्बन नगर्ने हो भने तिनलाई जनता तथा कर्मचारीहरूले सम्मान गर्ने अपेक्षा गरिदैन र यसका कारण द्वन्द चर्किदै जानेछ । मुलुकको राजनीति नैतिकवान् र जवाफदेही नवनाउदा सम्म अन्य अंग कुनै हालतमा सुध्रने छैन । नेतालाई भने छाडा छाड्ने छुट दिने र अरू सहीसलामत हुने र अनुशासित हुनुपर्ने अपेक्षा मृगमरिचिका हुन्छ । भ्रष्टाचारको मूल सुकाउन नेताको दिमागको सर्जरी गर्न र कर्मचारीको मति सुधार्न नेताहरूमा निरन्तर बिकसित चरित्र स्खलनको दुर्गति नियन्त्रण गर्नु अपरिहार्य हुन्छ।

लेखक नेपाल सरकारका पूर्व सचिव हुन् ।