इंगल्याण्डमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा बंगलादेशले कीर्तिमानी जित निकालेको छ । विश्वकपमा ३२२ रनको विजयी लक्ष्य बंगलादेशले दोस्रो पटक पूरा गरेर कीर्तिमान बनाएको हो ।

यसअघि सन् २०१५ मा बंगलादेशले स्कटल्याण्डविरुद्धको खेलमा पनि ३२२ रनको लक्ष्य ४ विकेटको क्षतिमा पूरा गरेको थियो । सबैभन्दा बढी रनको लक्ष्य पूरा गर्ने कीर्तिमान आयरल्याण्डको नाममा छ ।

आयरल्याण्डले सन् २०११ मा इंगल्याण्ड विरुद्ध २२९ रनको लक्ष्य ७ विकेटको नोक्सानीमा पूरा गरेको थियो ।

टाउनटनमा सोमबार राति सम्पन्न खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई ७ विकेटले हराएको हो । ३२२ रनको लक्ष्य बंगलादेशले ४१.३ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा गरेको हो ।

शकिब अल हसन र लिटन दासबीच चौथो विकेटका लागि नटआउट १८९ रनको साझेदारी भएसंगै बंगलादृेशले सहज जित आफ्नो नाममा लेखाएको हो ।

शकिबले ९९ बलमा नटआउट १२४ रन बनाए भने लिटन दासले ६९ बलमा ४ छक्काको मद्धतले नटआउट ९४ रन बनाए ।

तमिम इक्वालले ४८ तथा सौम्य सरकारले २९ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्न वाध्य भएको वेष्ट इन्डिजले ८ विकेटको नोक्सानीमा ३२१ रन बनायो । साइ होपले १२१ बलमा ९६, इभिन लेविसले ७०, शिमरोन हेटमायेरले ५०, कप्तान जासन होल्डरले ३३ रन बनाएका थिए ।

मुस्तफिजुर रहमान र मोहम्मद साइफुद्दिनले ३–३ विकेट लिँदा अलराउन्ड म्यान अफ द म्याच शकिवले २ विकेट झारे ।

दक्षिण अफ्रिकालाई हराउँदा बंगलादेशले ३३० रन बनाएको थियो ।

बंगलादेशले यसअघि वेष्ट इन्डिजसंग विश्वकपमा भिडेका तीन वटै खेल हारेको थियो । यो पनि कीर्तिमान भएको छ ।


जितपछि बंगलादेश ५ खेलबाट ५ अंकसहित पाँचौं स्थानमा पुगेको छ । वेष्ट इन्डिजको ५ खेलबाट ३ अंकमात्रै छ ।




