असार पहिलो साता प्रदेशस्तरीय राष्ट्रिय बीच भलिबल

संघीय संरचनासँगै पोखरामा पहिलो पटक प्रदेशस्तरीय राष्ट्रिय महिला तथा पुरुष विच भलिबल प्रतियोगिता चारदिनपछि शुरु हुदैं छ । फेवाताल किनारमा निर्माण गरिएको एक मात्र विच भलिबल कोर्टमा ४० टोलीले तीनदिनसम्म प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली सेनाको पश्चिम पृतनाले चार लाखको लागतमा फेवाताल किनार बाराही खेल मैदानमा कोर्ट निर्माण गरेपछि केही वर्षयता विच भलिबल प्रतियोगिता निरन्तर आयोजना गरिएको छ । गत वर्ष नै नेपाल भलिबल संघले पाँचै विकास क्षेत्र र तीन विभागीय टोलीलाई समावेश गर्दै राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेको छ । नेपाल भलिबल संघकै क्यालेण्डर अनुसार विच भलिबललाई प्रोत्साहन र प्रवद्र्धनसँगै दक्षिण एशियाली खेलकुद प्रतियोगिताको लागि खेलाडी छनोट गर्ने उद्देश्यसहित असार ५ गतेदेखि ७ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए ।

कास्की जिल्ला भलिबल संघको व्यवस्थापन र संयोजनामा आयोजना हुने प्रतियोगिताको लागि २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । खर्चको लागि विभिन्न संघसंस्थाबाट सहयोग जुटाईने छ । ‘भलिबलको राष्ट्रिय टिम तयार पार्न राखिएको क्लोज क्याम्पका खेलाडीहरु प्रतियोगितामा सहभागिता जनाउन पाउदैनन् ।’ अध्यक्ष पराजुलीले भने–‘अन्य खेलाडीले सम्बन्धित प्रदेशको सिफारिसमा कोर्टमा उत्रिन पाउने छन् ।’

सातै प्रदेश र तीन विभागीय टोलीका ४० टोलीले प्रतिस्पर्धा गर्ने छन् । तयारी अन्तिम बनाईएको छ । ‘कोर्ट मर्मत कार्य भईरहेको छ ।’ उनले भने–‘बालुवा थपेर कोर्टको स्तरोन्नति गरिएको छ ।’ बेष्ट अप थ्रीमा खेलाईने छ । ७ अंकपछि कोर्ट साईड परिवर्तन हुन्छ । दोस्रो पटक १४ मा परिवर्तन हुन्छ । प्रतियोगितालाई लिगकै आधारमा सञ्चालन गरिने उनको भनाई थियो । विजेता महिला तथा पुरुष टोलीले समान नगदराशी ३०÷३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । दोस्रो हुने दुवै टोलीको हकमा भने २०÷२० हजार र तेस्रो हुने टोलीको भागमा भने १०÷१० रुपैयाँ पर्ने छ । उत्कृष्ठ खेलाडीद्वयलाई पनि नगद ३÷३ हजार रुपैयाँ प्रदान गरिने छ ।

kheladinews.com