विवेकशील नेपाल पार्टी र साझा विवेकशील पार्टीको एकतामा पार्टी र कार्यकर्ताले पाएको बलमा एउटा चमत्कारिक आशा थियो। जसले देशमा एउटा शिक्षित बर्गको देश बनाउने अभिलाषाले पूर्णता पाउन लागेको अनुभूति हुने गर्थ्यो।
पार्टी आफैमा त्यत्रा विद्वत व्यक्तित्वहरुको जमातले भरिंदा देशवासीमा आशाका किरण मौलाएको थियो। छाती चौड़ा भएको नांगो आँखाले देख्न सकिन्थ्यो। त्यसमा बिचारहरुको मन्थनले प्रश्रय पाउने कुरा जनताहरु निर्विवाद मान्ने गर्थ्यो।
सबैभन्दा महत्वपूर्ण विषय यो एकता अटुट हुने र अतुलनीय हुने कुरामा निश्चित रुपमा बाहिर बसेकाहरुले पनि आँकलन गरेका थिए। कुनै पनि शक्तिलाई परास्त गर्ने शक्ति यो एकतासित छ भन्ने कुरा हामीले सोच्ने गर्थ्यौ ।
तर विद्वता र विद्वानहरुको क्षमता सोचेको जस्तो नरहेको कसैले पनि हेक्का राख्न सकेन। सायद यो जनताको कमजोरी थियो। यो देशमा अलि राम्रो दृष्टिकोण राखेर अगाडि बढेको देख्योकि हामीहरु उनीहरुमा देवत्वको प्रतिबिम्ब देख्न थाल्छौं। अब यि देवगणहरु आएर सबै पापीहरुको सर्वनाश गर्नेछन् र फेरी एकपल्ट आशातित शासन व्यवस्था संचालन हुनेछ। देश हाम्रो हुनेछ। राष्ट्र र राष्ट्रियताको सम्बर्धन हुनेछ।
नेपाल नेपालीहरुको हुनेछ। समृद्धि र अन्वेशनले राष्ट्रियताको परिधि नाघ्नेछ। परदेशमा नेपाली भावनालाई त्यस देशको आवरणले बाहिरीरुपमा छोपेर बसेकाहरु ती आवरण च्यातेर स्वदेशमा समर्पित हुनेछ। ईलमका नयाँ नयाँ सम्भावनाहरुले आकर्षित गरेर सबैलाई स्वागत गर्नेछ। आदि इत्यादि मनचिन्ते सपनाहरु हामीले थुपारेका थियौं ।
तर दुर्भाग्य कुनै शक्तिको प्रयोग नै नगरी आशाको भारी बोकेको यो पार्टी २ टुक्रा भयो। सारा आशाहरु आधीले आकाशमाथि पुर्यायो। निलो आकाश कालो भयो। सेतो बादलले रुप फेर्यो र हामीलाई माथि बसेर अहिलेसम्म गिज्याइरहेको अनुभूति हामीले गरीरहेका छौं। के गर्ने नेपालीहरुले फेरी एक पटक पुरानो थेगो सम्झिन बाध्य भयो, ‘सतीले सरापेको यो देश, यहाँ राम्रो कहिल्यै हुदैन। ’
यदि मेरो बस चल्ने भए यी नेतृत्वहरुलाई फलामको सिक्रीले एकै ठाउँमा बाधेर राख्थे र भोटे ताल्चा लगाउने थिएँ। तर म सानो मान्छे हुँ। मेरो बाहुमा बाहुबलीको जस्तो शक्ति छैन। त्यसैले म मौन बसिराखेको छु। नेपाल आमाको मन्दिरमा बसेर यत्ति प्रार्थना गर्न सक्छु, सक्छौ भने मिलेर अघि बढ्नु । हैन भने ‘यूटोपिया’ को साम्राज्यमा हामीलाई नलैजानुस्।
हामीलाई वरिपरी मःम र चाउचाउ मात्र खानेहरुले चोरी औला देखाएर कुरीकुरी भन्दै चिरहरण गरिरहेका छन्। हामी साझा पार्टी भन्छौं तर सुन्नेले साझा बस होला भनिदिए। कतिसम्म हामी लज्जित भएर बस्ने ?
जय देश ! जय राष्ट्र ! नेपालको जय होस् । नेपाल मात्र नेपालीको सदा रहोस् !!!!




