जीवनका यी अकाट्य चार चरण छन्: १ .ब्रह्मचर्य अर्थात् विद्यार्जन, २. गृहस्थाश्रम अर्थात् जीवन चलाउन कमाई गर्ने ३. वानप्रस्थ अर्थात् निजीस्वार्थबाट सामाजिक स्वार्थतर्फ योगदानगर्ने र सारा मोहबाट विस्तारै उन्मुक्त हुने, ४. सन्यास आश्रम अर्थात् सबै सांसारिक लगाव र मोह त्यागी ईश्वरमा लीन हुदै चरम आनन्दाभूति गर्ने र महाप्रस्थान गर्ने।
पहिला दुई आश्रम जसमा आधा मात्र जीवनकाल हुन्छ यसमा अत्यधिक जोड दिने तर पछिल्ला दुई चरण जसमा अर्को आधा जीवन गुजार्नु पर्छ त्यसमा खासै तयारी र ध्यान नदिने जमाना अहिले भएकोले जति जति उमेर बढ्छ त्यति त्यति खुशी सुखि बुद्धिमानी सन्तुष्ठी आनन्द सम्मान हुनुपर्नेमा झन् झन् दु:खको सागर बनाइदै लगिएको देखिन्छ ।
मानिसको जीवन पूर्ण सफल हुनुपर्नेमा आधा संघर्षमा र अर्को आधा दु:खी जीवन व्यतीत गर्ने अज्ञानी समाज वनिरहेको विश्वमै यत्रतत्र देखिन्छन् । सदा सुखी रहने वैदिक समाजको सामाजिक व्यवस्था पुनरोत्थान नगर्ने हो भने बिज्ञान र प्रविधिको तिब्र बिकासले निरन्तर आयु बढिरहेको मानवजीवन दु:खको सागर हुने क्रम रोकिने छैन । विज्ञानले मानिसलाई अजम्बरी दीर्घायु वनाएर हजार वर्ष सम्म जीवित राख्ने प्रविधि खोजगर्न निरन्तर अघि बढ्दैछ । तर जीवन झन् दु:खी हुनसक्ने तर्फ ध्यान नदिदा त्यस्तो दीर्घायू जीवन झन् दु:खको सागर पो वन्ने हो कि!
लेखक नेपाल सरकारका पूर्व सचिव हुन् ।




