पुर्वाधारकै अभावमा पोखरा महानगरपालिकाले महानगर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितालाई पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा आयोजना गरेको छ ।
राष्ट्रिय खेलकुद परिषदले राष्ट्रपति रनिङशिल्ड प्रत्येक निर्वाचन क्षेत्रअनुसार प्रतियोगिता आयोजना गर्ने नीति अनुसार महानगरपालिकाले ३८ विद्यालयलाई समावेश गर्दै प्रथम महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार शुरु गरेको हो ।
कास्कीका अन्य तीन गाँउपालिकामा भने प्रतियोगिता टुंग्याईसकिएको छ । माछापुच्छ«े गाँउपालिकाले आयोजना गर्न बाँकी छ । मादी, रुपा र अन्नपूर्ण गाँउपालिकाबाट जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको लागि विद्यालय छनोट भईसकेका छन् ।
महानगरस्तरीयबाट समेत छनोट गरी चार गाँउपालिका र एक महानगरपालिकाबाट छनोट विद्यालयले अन्तिममा जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छ । जिल्लाबाट छनोट भएका विद्यालयले प्रदेशमा प्रतिस्पर्धा गर्ने छन् ।
शुक्रबार शुरु गरिएको प्रतियोगितामा छात्रा तथा छात्र १५ सय मिटर दौडको फाईनल गरियो । छात्रा तर्फको प्रतिस्पर्धामा भद्रकाली मावि कुँडहरकी सुजता बरालले ६ मिनेट १७ सेकेण्डमा पुरा गर्दै प्रतियोगिताको पहिलो स्वर्ण पदक जितिन् । गौरीशंकर मावि हेमजाकी ओममाया फगामीले ७ मिनेट ५३सेकेण्डमा पुरा गर्दै रजत र चिल्ड्र्ेन्स एकेडेमीकी अरपिता गुरुङले ८ मिनेटमा दौड पुरा गरेर कास्य पदकमा चित्त बुझाईन् ।
यसैगरी छात्र तर्फको प्रतिस्पर्धामा रत्नज्योति बोर्डिङस्कुल रत्नचोकका किशोर आलेले ५ मिनेट ५ सेकेण्डमा दौड पुरा गर्दै छात्रहरुमा पहिलो स्वर्ण पदक हत्याए । गौरीशंकर मावि हेमजाका दिलिप बुढाथोकीले ५ मिनेट ६ सेकेण्डमा पार गर्दै रजतमा चित्त बुझाउँदा भद्रकाली मावि कुडँहरका सुरेश विकले ६ मिनेट ५३ सेकेण्डको समय लगाउँदै कास्य पदक जितेको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।
प्रतियोगिता असार २ गतेसम्म चल्ने छ ।३८ विद्यालयले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गरेका छन् । ९ लाख रुपैयाँको बजेट हो । प्रतियोगिताको उदघाटन गण्डकी प्रदेशका आर्थिक योजना तथा मामिला मन्त्री किरण गुरुङले गरेका हुन् । महानगरपालिकाका मेयर मानबहादुर जिसीले महानगरपालिकाले खेल ग्राम निर्माणको लागि आगामी नगरसभा मार्फत बजेट विनियोजन गर्ने उदघोष गरेका छन् ।
kheladinews




