महानगरपालिकाको योजना , आर्वामा खेलग्राम बनाउन डिपिआर पेश

पोखरा महानगरपालिकाले खेलग्राम निर्माणको तयारी गरेको छ । केही ठाँउको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) समेत बनाईसकेको छ । बनाइएको प्रतिवेदन अनुसार महानगरपालिकाले आफनै खेलग्राम निर्माण गर्ने योजना बनाएको हो । योजनालाई आगामी पाँचौ नगरसभाले अनुमोदन गर्ने छ । लामो समयदेखि बजेट अभावमै अलपत्र परेको लेखनाथ भण्डारढीक रंशगालामा निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हलको लागि समेत नगरसभाले बजेट बिनियोजनको प्रस्ताव गरिएको छ । बजेट बिनियोजन गर्दै कभर्ड हल तयार गरे त्यस क्षेत्रमा आयोजना हुने इण्डोर गेमको लागि सहज हुने विश्वास स्थानीयबासिन्दाले लिएका छन् ।

महानगरपालिकाले खेलकुद क्षेत्रमा लाखौं रुपैयाँ खर्च गर्दै आएको छ । पछिल्लो दुई वर्षलाई हेर्दा आफैंले आयोजना गरेको र आयोजक संस्थालाई सहयोग वापत दिएको बजेट झण्डै एक करोड रुपैयाँ छ । आफैंले आयोजना गरेको प्रतियोगिताबाट ठोस उपलब्धी भने देखिएको छैन् । त्यसैले महानगरपालिकाले महानगरपालिकाभित्रै खेलग्राम निर्माण गर्ने योजना अघि सारेको हो । योजना अनुसार पोखरा महानगरपालिका वडा नं १३ मा खेलग्राम निर्माण गर्न प्रतिवेदन समेत तयार भईसकेको छ ।

‘आर्वामा खेल ग्राम बनाउन आवश्यक डिपिआर बनाई महानगरपालिकामा पेश गरिसकेका छौं’ पोखरा महानगरपालिका वडा नं १३ का वडाध्यक्ष दर्शन लामाले भने–‘तीन वटा डिपिआर पेश गरेका छौं । त्यही अनुसार महानगरपालिकाले छुट्टाउने बजेट अनुसार काम गर्छौ ।’ उनका अनुसार साविक आर्वा विजय गाविस वडा नं २ स्थित साझामा ७ रोपनी ७ आनाको क्षेत्रफलमा खेल ग्राम बनाईने छ । उनले इण्डोर प्रकृतिको खेल ग्राम निर्माण गर्ने लक्ष्यसहित प्रतिवेदन पेश गरिएको सुनाए ।

खेल ग्राम विशेष गरी विद्यालयलाई लक्षित गरिने छ । ‘सेभेन ए साईड फुटबल मैदानसहित प्यारापिट निर्माण गर्ने योजना हो ।’ उनले भने–‘आवश्यकता र खेल अनुसार मैदान निर्माण गरिने छ ।’ उनका अनुसार ह्याण्डबल, भलिबल तथा फुटबल खेल्न मिल्ने मैदान तयार हुने छ । प्यारापिटसहित पुर्वाधार बनाउन ६ करोड रुपैयाँ लागत अनुमान गर्दै डिपिआर महानगरपालिकामा पेश गरिएको छ । खेल मैदानको लागि मात्रै ३ करोड रुपैयाँको योजना छ । ‘महानगरपालिकाले पहिलो चरणमा प्यारापिट बिनाको खेलग्राम बनाउने योजनालाई प्राथमिकता दिएको छ ।’ उनले भने–‘त्यही अनुसार बजेट बिनियोजन हुने सम्भावना छ ।’

खेल ग्राम निर्माणको लागि महानगरपालिकाले विभिन्न वडामा अध्ययन गरेको थियो । खेल ग्रामको लागि उपयुक्त जग्गासहितको प्रतिवेदन अन्य वडाले पेश गरेका छैनन् । अन्य वडाले पेश नगरै कारण महानगरपालिकाको पहिलो खेल ग्राम वडा नं १३ मा बन्ने सम्भावना छ । ४ रोपनी सार्वजनिक जग्गा भएपनि डाडाँ खारेर केही फराकिलो बनाउने योजना भने वडाले गरेको छ । महानगरपालिकाका मेयर मानबहादुर जिसकिा स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाका अनुसार महानगरपालिकामा खेल ग्राम निर्माणको लागि लेखनाथ क्षेत्र र वडा नं १३ मा प्रस्ताव गरिएको छ । प्रस्ताव भएपनि वडा नं १३ को मात्रै डिपिआर तयार भएर पेश भएको उनको भनाई थियो ।

उनले झण्डै दुई वर्षदेखि बजेटकै अभावमा अलपत्र परेको भण्डारढीक खेलमैदानस्थित कभर्ड हललाई महानगरपालिकाले ४० लाख रुपैयाँ छुट्टाउने तयारी गरेको छ । ‘बजेट तानतुन हुदैं छ । सकेसम्म बढी बजेट छुट्टाउने गरी काम गर्दै छौं ।’ उनले भने । राष्ट्रिय खेलकुद परिषदले दुई वर्ष अघि विनियोजन गरेको ५५ लाख रुपैयाँ बजेटबाट जगसम्मको काम गरिएको छ । फलामका रड सबै खिया लागिसकेको छ । लेखनाथमा पनि खेल ग्राम बनाउन १४÷१५ रोपनीको जग्गा हेरिएको स्वकीय सचिव तिमिल्सिनाले सुनाए ।

महानगरपालिकाले स्वास्थ्य नागरिकको अभियान अन्तर्गत पार्कमा खुला व्यायामशाला निर्माण गरेको छ । त्यसैगरी एक वडा एक खेल मैदानको अभियानलाई पनि अन्तिम रुप दिदैं छ । एक वडा एक खेल मैदान अन्तर्गत महानगरपालिकाका २१ वडामा भलिबल तथा व्याडमिन्टन कोर्ट तयार गरिदैं छ । व्याडमिन्टन र भलिबलको लागि ७० लाख रुपैयाँ खर्च हुने महानगरपालिकाले जनाएको छ ।

kheladinews.com