पोखरा महानगरपालिकाको आयोजनामा जेठ ३१ गतेदेखि महानगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पोखरा रंगशालामा हुने भएको छ । प्रतियोगितामा विद्यालय तहमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थी सहभागी हुन पाउनेछन् । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा जेठ ३० गतेसम्म खेलाडीको नाम दर्ता गराउन सकिने महानगरले जनाएको छ ।
प्रतियोगितामा छात्र, छात्रातर्फ भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्टका विभिन्न खेलहरु समावेश गरिएको महानगरका शिक्षा महाशाखा अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार प्रतियोगितामा विजेता विद्यार्थीलाई नगदसहित मेडल प्रदान गरिनेछ ।
प्रतियोगितामा अनिवार्य रुपमा सहभागी हुन सामुदायिक तथा संस्थागत विद्यालयलाई महानगरले आग्रह गरेको छ । प्रतियोगिता सञ्चालन गर्न पोखरा १० का अध्यक्ष राजकुमार गुरुङको संयोजकत्वमा प्राविधिक तथा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।






