आसन्न एसियन सेन्ट्रोल जोन पुरुष भलिबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा विदेशी प्रशिक्षक आउने भएका छन् ।
अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीभी) ले नेपालका लागि नेदरल्याण्ड्सका पूर्व खेलाडी तथा प्रशिक्षक हान एबिङलाई तीन महिनाका लागि असार चार गते नेपाल पठाउन लागेको हो ।
नेपाल भलिबल संघको पहलमा डच प्रशिक्षक हान पहिलो पटक नेपाली भलिबलको प्रशिक्षकका रुपमा आउन लागेको हुन । २५ बर्ष लामो प्रशिक्षकको अनुभव बटुलेका हानले सात वर्ष डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए । उनले १९९७ देखि २००४ सम्म डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए ।
हानलाई ल्याएपछि नेपाली भलिबलमा परिवर्तन हुने अपेक्षा गरिएको छ । उनको नेपाल रहँदाको तलब एफआइभीभीले बेहोर्नेछ । उनले पुरुषका साथै महिला टिमलाई पनि प्रशिक्षण दिने बताइएको छ ।
सेन्ट्रले जोन पुरुष भलिबलमा पदक जिताउने लक्ष्यका साथ नेपाल आउन लागेका हानले असार ५ गतेबाट प्रशिक्षण सुरु गर्नेछन् । पुरुष राष्ट्रिय भलिबल टिमले सोमबारबाट तयारी सुरु गर्दैछ ।






