बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन् ।
यही जेठ १५ गते रंगशालाको पश्चिमतर्फ लगाइएको बार केही स्थानीयवासीले भत्काएकाले काम अवरुद्ध भएकोपछि सञ्चालन गर्न धुर्मुससुन्तलीलाई आग्रह गरिएको हो ।
बार भत्काउनेलाई प्रहरीले नियन्त्रणमा लिई तारेखमा छोडिसकेको छ । उनीहरूले सार्वजनिक रुपमा क्षमायाचना गर्दै भत्काइएको बार आफैँ निर्माण गर्ने जनाएका छन् । स्थानीयवासीले सडक फराकिलो बनाउन पनि माग गर्दै आएका छन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको विस्तृत आयोजना प्रतिवेदन तयार भएपछि बाटोको टुंगो लगाउने आश्वासन दिइसकेकी छन् । बाटो फराकिलो बनाउँदा रंगशालातर्फको भागबाट केही बढी छाड्नुपर्ने स्थानीयवासीको माग छ ।
प्रमुख दाहालले रोकिएको काम तत्काल शुरु गर्नका लागि गृहकार्य अघि बढाइएको बताइन् । स्थानीयवासीको माग सम्बोधन भएको भन्दै उनले यस गौरवको आयोजना सम्पन्न गर्न सबैको सकारात्मक सहयोगको अपेक्षा पनि गरेको बताइन् ।




