अन्तराष्ट्रिय कराँते च्याम्पियनसिपमा बाग्लुङका पाईजामगरलाई स्वर्ण

दक्षिण कोरियाको बुसानमा आयोजित एक खेल प्रतियोगितामा बाग्लुङका राजन पाईजा मगरले स्वर्ण जितेका छन् ।

कोरियामा भएको ३१ औं बुसान मेयर कप अन्तराष्ट्रिय कराँते च्याम्पियनसिपमा उनले ६० तौल समुहमा नेपालका तर्फबाट स्वर्ण पदक हात पारेका हुन् ।

त्यसैगरी पोखराका प्रकाश खड्काले ६७ केजीमा रजत पदक, चन्द्र हमालले कास्य र जमानसिंह गुरुङले पनि रजत पदक प्राप्त गरेका छन् । महिला तर्फ चन्द्र हमालले ५५ केजीमा कास्य पदक जित्दा पुरुष तर्फको ५५ केजीमै चन्द्र खड्काले पनि कास्य पदक जितेको कास्की जिल्ला सितेरियो संघका अध्यक्ष एवं प्रशिक्षक सुरेन्द्र गुरुङले जानकारी दिए ।

उनका अनुसार १३ वर्षको उमेर समूहको प्रतिस्पर्धामा मोनिका थापा मगरले कास्य पदक गरि नेपालले कुल एक स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेको छ । कोरियामा ६ खेलाडी सहित दुई अफिसियलको रुपमा गएका थिए । अफिसियलको रुपमा नेपालबाट गएका राम थारु र प्रेमबहादुर गुरुङले रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

तस्विर:राजन पाईजामगरकै फेसबुकबाट साभार गरिएको