पाँच कक्षामा पढ्ने रामू उर्फ राम बहादुर थापा कक्षाका अध्ययनशील छात्र मध्येको एक हो । उसको घरायसी अवस्था छोटो साँघुरो थियो । एकदिन विद्यालयबाट घर फर्कंदा बाटोमा कलम कतै खसेछ वा कुनै बदमास साथीले लुकाइदिए उसँग कलम भएन । अर्को कलम नहुँदा गृहकार्यहरु गर्न पाएन विचरा । हुनपनि दुइटा कलम किन्ने हैसियत उसँग थिएन । परिणाम भोलिपल्ट कतिपय सर मेमहरुसँग व्यहोरा जनाई क्षमा मागेर गल्ती नदोहोर्याउने बाचा गर्यो, तर गणित पढाउने रामेश्वरसरले भने जुन सुन बन्ला सोचेको, उही पित्तल भन्दै हातमा छडीले हान्ने क्रममा झुक्किएर आँखा घोचिन पुगेर रामूको आँखै फुट्यो । हिसाब पढाउने सरहरु कडा हुन्छन् भन्ने दम्भ पूरा गर्दा रामेश्वरलाई पश्चातापको रापले पिरल्यो । रामूलाई उपचारार्थ अस्पताल लगियो । विद्यालयमा विभिन्न खालका चर्चाहरु चल्न थाले । रामेश्वरसर विद्यार्थी, अभिभावक, सहकर्मी शिक्षकसमेतका तिखा प्रतिक्रिया एउटा गँवार लाटो जस्तै केही नबोलेरै पचाउन बाध्य देखिन्थे ।
हेडसरले सबै व्यहोराको जानकारी गराउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूलाई भोलि नै आपद्कालीन बैठकको आयोजना गर्ने स्वीकृति मागे । सोही अनुसार अन्य सदस्यहरुलाई पनि फोनबाटै बैठकको जानकारी गराए । विद्यालय साझेदारी परियोजनाका समन्वयकर्ता पनि विद्यालय व्यवस्थापन समितिको बैठकमा आमन्त्रित सदस्य थिए । उनी सदरमुकाम गएका भएपनि पनि जरुरी बैठकमा अनिवार्य उपस्थित हुन खबर गरियो ।
भोलिपल्ट विद्यालय व्यवस्थापन समितिको पूर्ण बैठक बस्यो । विद्यार्थीलाई सजाय दिने विषय नै बैठकको मुख्य एजेण्डा बन्यो । छलफल सघन ढङ्गले बढ्यो । विद्यार्थीहरुलाई शारीरिक सजाय दिन नहुने तर्कहरु अलि धेरै आए । रूखलाई पनि मनचिन्ते बनाउन हाँगाहरु छिमल्न (पुर्निङ् गर्न) पर्दछ । शास्त्रमा पनि …दश वर्षाणी ताडयेत्… भनिएकैछ, बदमासीलाई रोक्न सजाय त दिनै पर्छ भन्नेहरुको विचार पनि फालिहाल्नुका थिएनन् । सजाय दिने वा नदिने भन्ने हिसाबले निर्णय निस्कने जस्तो छलफलको रुप थिएन ।
त्यसैबीचमा समन्वयकर्ताले आफ्नो तर्क राख्न हात उठाए । सबैको ध्यान उनैतिर आकर्षित भयो । उनले छोटो प्रस्ताव राखे – विद्यार्थीलाई सजाय दिने तर गल्ती गरेको ७२ घण्टा पछि मात्र ! यसो गरे कसो होला ? सबैले एकछिन गम खाए । सजाय दिनुपर्छ भन्नेहरुले पनि बोल्ने ठाउँ रहेन, अनि आज गरेको गल्तीलाई सम्झी-सम्झी पर्सी विद्यार्थीलाई शिक्षकले सजाय दिने कुरा पनि भएन । वास्तवमा शिक्षक-विद्यार्थीहरुबीच सौताने व्यवहार हुने पनि भएन नै ताकि सम्झी-सम्झी सजाय दिएर आँखा फुटाइयोस् वा हात भाँचियोस् । सर्वसम्मतिमा गरिएको यो निर्णय अन्यत्रका विद्यालयहरुले पनि अनुकरण गर्न थाले ।
कतै यसैलाई सर्बत्र लागू गर्न वर्तमानमा सम्बन्धित निकायले परिपत्र गरिदिनु पर्ने त हैन !
…सके सपारौं, नसके नबिगारौं…
हामी सबैको कल्याण हवोस् ।
सन्दर्भ – शिक्षिकाले पिटेर ४ विद्यार्थीको हात भाँचियो !




