सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् ।
प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले हल्लाको पछाडि नलाग्न आग्रह गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।
अर्को प्रसङ्गमा उनले अहिलेको बजेटले नेपालीको जीवनस्तरमा गुणात्मक सुधार गर्ने बताए ।
शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा नीति र कार्यक्रम अघि सारी अब जीवनस्तर गुणात्मक सुधार गर्न बजेटले सम्बोधन गरेको उनको भनाइ थियो । सरकारले पूर्वपश्चिम, उत्तरदक्षिण सबैतिर सडक सञ्चाल, रेल तथा जलमार्गको विकास गर्ने उनको भनाइ थियो ।
सामाजिक सुरक्षाभत्ता वृद्धिलगायत सरकारले ल्याएको बजेटले विपक्षी आत्तिएकाले अनावश्यक हल्लाको पछि नलाग्न उनले आग्रह गरे । उनले सरकारले मिडिया काउन्सिल विधेयक पत्रकारको हितका लागि ल्याएको र त्यसले पत्रकारको पारिश्रमिक सुनिश्चित गर्ने र अराजकता नियन्त्रण गर्ने बताए ।






