विप्लवलाई धक्का, पोलिटब्युरो सदस्य नेकपा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पदबहादुर राई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी प्रवेश गर्ने भएका छन्। पूर्व राज्यमन्त्रसमेत रहेका राईलाई केही समयअघि विप्लव नेतृत्वको नेकपाले पार्टीबाट निलम्वित गरेको थियो ।

निलम्बनमा परेपछि असन्तुष्ट राईले विप्लव नेतृत्वको नेकपा परित्याग गरी सत्तारुढ नेकपामा प्रवेश गर्ने निर्णय लिएका हुन्। पूर्वभौतिक योजना तथा निर्माण राज्यमन्त्री राई तत्कालीन नेकपा माओवादी विभाजित भएपछि विप्लवसँग लागेका थिए । भोजपुरको बोया घर भएका राईसहितको नेता कार्यकर्ताको ठुलो पंक्ति तत्कालीन नेकपा माओवादी छाडेर विप्लवतर्फ लागेको थियो । राईलाई आइतवार पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम तय गरिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन्।

पूर्वसंविधानसभा सस्दस्यसमेत रहेका उनी माओवादीले जनयुद्ध थाल्नुअघिदेखि नै त्यस पार्टीमा संगठित थिए । उनी भोजपुर र खोटाङसहित पूर्वी पहाडी जिल्लामा जनयुद्धताका लोकप्रिय नेतामध्ये पर्दथ।