अदालतले तोकेको धरौटी रकम बुझाउन नसक्दा नेत्रविक्रम चन्द समूह (विप्लव) नेतृत्वको नेकपाका ४ जना कार्यकर्ता कारागार चलान भएका छन् । जिल्ला अदालतबाट मुद्दा पुर्पक्षका लागि भएको धरौटी आदेशमा प्रतिव्यक्ति ४ लाख २० हजार रुपैयाँ तोकिएको थियो । अदालतले धरौटीको रकम माग गर्दा तिर्न नसक्ने बताएपछि उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
उनीहरुलाई थुनुवा पुर्जी दिएर कारागार लगिएको बताउँदै जिल्ला अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्यले धरौटी बुझाउन सके मुद्दाको फैसलाको समयसम्म छुट्न सक्ने जानकारी दिए । प्रहरीले पार्टी जिल्ला इन्चार्ज कास्की जिल्ला पोखरा महानगरपालिका–२७ ज्यामिरेका ३३ वर्षीय गोकुल पराजुली र मजदुर नेता पश्चिम रुकुम त्रिवेणी गाउ“पालिका–१ का २९ वर्षीय गोविन्द ओलीलाई पुतलीबजार नगरपालिका १४ बाट २०७५ फागुन १४ पक्राउ गरेको थियो ।
पार्टी जिल्ला कमिटी सदस्य भीरकोट नगरपालिका–२ का ४७वर्षीय सागर अर्याललाई चैत २७ र वालिङ नगरपालिका–२ छाप्राककी ५० वर्षीया मिसिरा नेपाली (सार्की) लाई चैत १७ गते पक्राउ गरेको थियो ।
पक्राउ परेकालाई ४ जनालाई प्रहरीले पहिलो चरणमा राज्यविरुद्धको कसुर र विष्पोटक पदार्थ सम्बन्धी कसुरका दुईवटा शीर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । विप्लव समूहले गत फागुन १० गते राति वालिङ नगरपालिका १२ मा रहेको एनसेलको टावरमा बम विस्फोट गराएको थियो । फागुन ३० गते पुतलीबजार नगरपालिका–४ भालुपहाडमा नक्कली बम राखेको थियो ।
नक्कली बमले स्थानीयमा आतंक मच्चिएको थियो । धम्की दिएर चन्दा असुलेको पनि प्रमाण भेएिपछि दुवै मुद्दालाई संगठित अपराध शीर्षकमा परिवर्तन गरेर अदालतमा कारबाहीको माग गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमख एसपी राजकुमार लम्सालले बताए ।
अदालतले एनसेल टावरमा बिष्फोट गराएको शीर्षकमा जनही २ लाख २० हजार र नक्कली बमबाट अतंकित र चन्दा असुलको शीर्षकमा २ लाख धरौटी माग गरेको लम्सालले बताए । ४ जनाबाट जम्मा १६ लाख ८० हजार रुपैयाँ तोकिएको बताउँदै लम्सालले अदालतबाट अवैधरुपमा चन्दा असुल गरेको रकम फिर्ता, टावरको क्षतिपूर्तिसहितको माग राखिएको बताए ।




