ताजा समाचार

जेठ १७ गते २०७६

कांग्रेसले भन्यो : सांसदलाई ६ करोड नदेऊ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले बजेटमार्फत सांसदलाई ६ करोड दिने घोषणाको विरोध जनाएको छ ।

कांग्रेसद्वारा गठित छायाँ सरकारका अर्थमन्त्री तथा सांसद मीनेन्द्र रिजालले निर्वाचन क्षेत्र विकास कार्यक्रमको नाममा सांसदलाई योजना छान्न दिनुको कुनै औचित्य नभएको औंल्याएका छन् ।
सरकारले बुधबार ल्याएको बजेटमाथि शुक्रबार पत्रकार सम्मेलन गरी प्रतिक्रिया दिने क्रममा रिजालले स्थानीयस्तरमा निर्वाचित स्थानीय सरकार रहेकाले सांसदलाई तजविजी योजना छान्ने गरी बजेट दिनुको औचित्य नहुने बताए ।

‘सांसदलाई ६ करोड बजेट दिनु हुँदैन भन्ने कुरामा कांग्रेस प्रष्ट छ,’ पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा रिजालले भने, ‘देशभा ६ हजारभन्दा बढी वडामा प्रतिनिधि छन् । ७६१ वटा त सरकार नै छ । अनि किन चाहियो सांसदलाई योजना छान्ने बजेट ?’

सांसदलाई नीति, नियम बनाउने जिम्मेवारी रहेको उल्लेख गरेका रिजालले विकास निर्माणको काम स्थानीय, प्रदेश र केन्द्र सरकारले गर्ने पनि बताए । निर्वाचित प्रतिनिधि नहुँदा सुशील कोइरालाको पालामा सांसदलाई बजेट दिने गरेको प्रसङ्ग निकाल्दै रिजालले अब त्यो आवश्यक नहुने बताए ।

अर्थमन्त्री युवराज खतिवडाले ल्याएको बजेटमाथि टिप्पणी गर्दै रिजालले भवितब्यमा पर्ने डरले बजेट ल्याएको देखिएको पनि उल्लेख गरे । ‘भवितव्यमा पर्ने हो कि । फेरि अर्को बजेट मैले होइन अर्कोले ल्याउने हो कि भन्ने मानसिकता बजेटमा देखिन्छ,’ उनले भने ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरणका बेला गरेका सहमतिअनुसार अघि बढ्नु पर्ने कुरा बाहिर ल्याएको प्रसङ्गमा रिजालले कांग्रेसले सत्तालाई भन्दा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाहका लागि ध्यान दिँदै आएको बताएका छन् ।

‘समानता र समान अवधिका लागि सरकार भन्ने कुरा पनि आएको छ । यो हाम्रो सरोकार होइन । तर, जनताको सरोकार भने पक्कै हो,’ उनले भने, ‘हामी त यही सरकारले बाँकी ३ वर्षको बजेट पनि ल्याउँछ भन्नेमै छौं ।’

सरकारले वितरणमुखी बजेट ल्याएको, टेकेको फलेक उप्कने बेलामा आकाश छुने कार्यक्रम समावेश गरेको भन्दै उनले समग्रमा बजेट गुलियो मिठाइ जस्तो भएको बताए । उनले निर्वाचन क्षेत्र पूर्वाधार विकासका कार्यक्रमका लागि सरकारले ४ करोडबाट बढाएर ६ करोड बजेट र्पुयाएकोमा पार्टीले छिट्टै निर्णय लिने बताए ।