विदेश जाने नेपाली कामदारको उडान शुक्रबारदेखि रोकियो

वैदेशिक रोजगार व्यवसायीले विदेश जाने नेपाली कामदारलाई शुक्रबारदेखि विदेश पठाउन रोकेका छन् ।

सरकारसँग राखेका ५ बुँदे माग पुरा नभएको भन्दै व्यवसायीले आजदेखि ७ दिन कामदारलाई विदेश पठाउन रोकेका हुन् ।

गएको जेठ ३ गते बसेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष भेलाले सरकारलाई १५ दिनको अल्टिमेटम दिंदै माग सम्बोधन नभए जेठ १७ गतेदेखि २३ गतेसम्म विदेश जाने कामदारको टिकट नकाट्ने निर्णय गरेको थियो ।

संघले वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको ब्याज व्यवसायीले पाउनुपर्ने, मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने, मलेसियासँग भएको समझदारी अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरेर कामदारलाई मलेसिया पठाउने प्रक्रिया सुरु गर्नुपर्ने माग गरेको छ ।