ताजा समाचार

जेठ १६ गते २०७६

लोकसेवाको विज्ञापन विरुद्ध सर्वोच्च जाने चेतावनी

लोकसेवा आयोगले गरेको विज्ञापन विरुद्ध स्थानीय तहमा कार्यरत अस्थायी र करारका कर्मचारीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन्।

आयोगले वर्षौँदेखि काम गर्दै आएका आफुहरुलाई अन्याय गरेको भन्दै विज्ञापन प्रकाशन भएको दोस्रो दिन उनीहरुले यस्तो चेतावनी दिएका हुन्।

बुधबार मात्र लोकसेवा आयोगले विभिन्न पदमा गरि ९ हजार पदमा विज्ञापन गरेको थियो।स्थानीय सरकार सञ्चालन ऐन २०७४ र यसअघि आन्दोलनमा सरकारसँग भएको सहमति विपरीत लोकसेवा आयोगबाट विज्ञापन गरिएको भन्दै उनीहरुले असन्तुष्टि राखेका हुन्।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ८७ को प्रतिस्पर्धा सम्बन्धी व्यवस्था विपरीत विज्ञापन गरिएको उनीहरुको आरोप छ।ऐनको उक्त दफामा लोकसेवा आयोगवाट सञ्चालन हुने खुल्ला तथा आन्तरिक प्रतिस्पर्धामा पहिलो विज्ञापनको परीक्षामा भाग लिने अवसर दिइने उल्लेख थियो। त्यसमा उमेर हद नलाग्ने र असफल भएमा स्वत अवकाश हुने भनिएको छ।

लोकसेवाको विज्ञापनले एक पटकमात्र प्रतिस्पर्धामा सहभागी गराउने र आफूहरुले बद्नियताका साथ हटाउने भन्दै उनीहरुले आन्दोलित हुने बताएका हुन्। आन्तरिक प्रतिस्पर्धामा सहभागी हुन पाउने अधिकार यो विज्ञापनमा सहभागी भएपछि आफूहरुको खोसिने भएकाले आन्दोलनमा उत्रनु र आवश्यक परेमा सर्वोच्चसम्म जाने मनसायमा पुगेको स्थानीय तह कर्मचारी संगठनका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था तथा नेपाल सरकारको ७६ जेठ ६ गतेको निर्णय अनुसार स्थानीय तहमा रिक्त रहेका पदहरूको पदपूर्तिका लागि स्थानीय तहबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमार्फत मागहरू आयोगबाट विज्ञापन गरिएको हो।