ताजा समाचार

जेठ १६ गते २०७६

मलेसिया र चाइनिज ताइपेविरुद्ध खेल्ने फुटबल टोलीको बिदाइ

मलेसिया र चाइनिज ताइपेमा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा विराज महर्जनको कप्तानीमा रहेको २३ सदस्यीय नेपाली टोलीलाई युवा तथा खेलकूद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् ।

नेपालले यही जेठ १९ गते मलेसियासँग खेल्नेछ भने जेठ २३ गते चाइनिज ताइपेसँग उसैको मैदानमा भिड्ने छ ।

सहभागी खेलाडीको गोलकिपरमा किरणकुमार लिम्बू, विकेश कुथु र एलेन न्यौपाने छन् भने डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी तथा रवि सिलवाल छन् ।

मिडफिल्डरमा रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई र तेज तामाङ छन् भने फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, विमल राना र नवयुग श्रेष्ठ छन् । नेपाली टोली आज बेलुका मलेसिया प्रस्थान गर्नेछन् ।