ताजा समाचार

जेठ १६ गते २०७६

अकुत कमाउने अधिकृतलाई भ्रष्टाचार मुद्दा

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध दुई करोड ६ लाख भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो । गैरकानूनी सम्पति आर्जन गरी उच्च जीवनयापन गरेको उजुरीपछि अनुसन्धान गरेको अख्तियारले अर्यालको सम्पत्ति वैध आय भन्दा बढी देखिएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो

२०५९ भदौ २३ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरेका अर्यालले २०७५ मंसिर मसान्तम्म अर्यालले तलब, भत्ता, कर्जा, कृषि आय, स्त्रिधन, अंश, नगद र जग्गा बिक्रीबाट २ करोड ४९ लाख ९२ हजार ७ सय ३० रुपैयाँ आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।

यही अवधिमा उनले आफू र आफ्नी श्रीमती सरिता नेपाल समेतका नाममा खरिद गरी राखेका एवं लगानी गरेको चल अचल सम्पत्तिहरु जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, लगानी तथा खर्च र विभिन्न बैंकमा बचत गरेको रकम ४ करोड ५६ लाख ८१ हजार ८ सय ४१ रुपैयाँ देखिएको थियो ।

अर्यालको वैध आयको तुलनामा २ करोड ६ लाख ८९ हजार १ सय ११ रुपैयाँको स्रोत नखुलेकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् । अख्तियारले अर्याल र उनकी पत्नीलाई प्रतिवादी कायम गरी बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।