ताजा समाचार

जेठ १६ गते २०७६

२ कुरा भए ओली ५ वर्ष प्रधानमन्त्री : प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बेला तत्कालीन एमाले अध्यक्ष केपी ओलीसँग आधा आधा अवधि प्रधानमन्त्री हुने सहमति भएको खुलासा गरेका छन् । उनले भने, ‘हामीबीचमा सहमति भएको छ । सरकारको नेतृत्वको पनि आलोपालो गर्ने सहमति छ । लिखितै छ ।’

प्रचण्डले पार्टी र आफूले सहमति दिए ओली ५ वर्षै प्रधानमन्त्री बन्न सक्ने उल्लेख गरे । उनले महाधिवेशनपछि आफूले पार्टी हेर्ने र ओलीले सरकार हेर्ने हुन सक्ने खुलाए । महाधिवेशनले आफूलाई अध्यक्ष निर्वाचित गरेर मात्र पनि ओलीलाई ५ वर्षै प्रधानमन्त्री दिन नसक्ने बताए । उनले भने, ‘मेरो जिम्मेवारी राम्रोसँग परिभाषित हुनुपर्छ । मलाई प्रधानमन्त्री नै नभई नहुने छैन ।’
उनले सुशासन र समृद्धिलाई सरकारले सम्बोधन गरे यही सरकार ५ वर्ष चल्ने बताए । उनले थपे, ‘जनताको चाहना अनुसार काम र सहमतिमा महाधिवेसन भए यही सरकार ५ वर्ष जान्छ ।’ पार्टी एकताका बेला भएको सहमतिबाट दायाँबायाँ गर्न खोजे कोही नटिक्ने उनको चेतावनी छ ।

समय आएपछि ओलीले सत्ता हस्तान्तरण गर्नेमा आफू विश्वस्त रहेको बताए । प्रचण्डले समय आएपछि ओलीले सत्ता हस्तान्तरण गर्न र आफूले लिन दुवै अप्ठ्यारो नहुने तर्क गरे । दुःख गरेर स्थापित भएको उल्लेख गर्दै उनले ठूलो आकांक्षा नभएको जिरिक गरेका छन् । उनले भने, ‘हलो जोतेर पढेको हो । एसएलसी दिँदा पैसा नभएर ऋण खोजेर काठमाडौं आएर भर्ना भएको हुँ ।’

पहिलो पटक प्रधानमन्त्री बन्दा आफूले परिपक्व व्यवहार देखाउन नसकेको उनले स्वीकारे । उनले भने, ‘मेरै परिपक्वता पुगेन । ९ महिना झिलिमिली झिलीमिलीमै बितेको हो ।’ नेपाली जनताले २ पार्टीको एकतालाई राम्रोसँग अनुमदन गरेकाले अब ठूलो जिम्मेवारी नेतृत्वमा आएको बताए । जबज र एक्काइसौ शताब्दीको जनवादले यहाँसम्म आउन योगदान गरेको उल्लेख गर्दै उनले अब अब समाजवादी क्रान्तिको आधार निर्माणका लागि लाग्नुपर्ने विचार राखे । उनले थपे, ‘अहिले नीति र नेतृत्व दुवैबारे पार्टीमा एक मत छ ।’

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समस्यालाई वार्ता, संवाद र सहमतिबाट नै समाधान गर्नुपर्ने उनले बताए । उनले नेकपामै विप्लवका लागि राजनीति गर्ने स्थान रहेको उल्लेख गरे । उनले भने, ‘विप्लव मसँग नजिक बसेको र धेरै माया गर्ने मान्छे पनि हो ।’ विप्लवले वितन्डा गरीरहे सरकारले कारवाही गर्ने संकेतसमेत गरे । प्रचण्डले भने, ‘उहाँले बम पड्काउने, सरकारले हेरेर बस्ने भन्ने त हुँदैन ।’

जनताले तत्काल परिणामा चाहेकाले अब कुरा भन्दा काम गर्नुपर्नेमा उनको जोड छ। उनले भने, ‘जनतालाई अब भाषणले सन्तुष्टि दिनेवाला छैन । काम नै चाहिन्छ ।’ गणतन्त्र दिवसको अवसरमा बुधबार प्राइम टाइम टेलिभिजनसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।