ताजा समाचार

जेठ १६ गते २०७६

अब नेपालमा कुनै युद्ध सम्भव छैन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा गणतन्त्र नरुचाउने तत्वको योजना सफल नहुने बताएका छन् । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिकामा शहीद क्याप्टेन यज्ञबहादुर थापाको शालिक शिलान्यास गर्दै अध्यक्ष दाहालले शान्ति सम्झौताको विरुद्धमा केही समूह लागि परेको भए पनि त्यो सफल नहुने बताए ।

गणतन्त्र प्राप्तिपछि सिङ्गो मुलुकको विकासले गति लिए पनि केही व्यक्ति र समूहका स्वार्थ पूरा नभएकाले त्यो शक्ति सक्रिय बन्न थालेको उनको भनाइ थियो ।विप्लप नेतृत्व समूहका पछिल्ला गतिविधिलाई सङ्केत गर्दै अध्यक्ष दाहालले सरकारसँग वार्ता गरेर मूलधारको राजनीतिमा आएर मुलुक निर्माणमा जुट्न आग्रह गरे ।

‘केही व्यक्ति र समूहका सीमित स्वार्थ केन्द्रित अभियान चलाएर फेरि जनतालाई भ्रम नफैलाउनुस् । वार्ता र संवाद्का माध्यमबाट मूलधारमा आउनुस् म सरकार विरोधी भनिएका शक्तिलाई अनुरोध गर्दछु’, पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले भने, ‘अब नेपालमा कुनै युद्ध र आन्दोलन सम्भव छैन र आवश्यकता पनि होइन । कसैले त्यो सोचेको भए सफल हुँदैन ।’गणतन्त्र प्राप्तिपछि बनेको संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेकाले अब गरिने आन्दोलन रु तीन करोड नेपालीको भावना विपरीत हुने उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री दाहालले शहीद यज्ञबहादुर थापाकी धर्मपत्नी पूर्णकुमारी थापा सहितका शहीद परिवारसँग भेट गरेका थिए । शहीद परिवारका सदस्यलाई सम्बोधन गर्न सरकारलाई सुझाव दिने अध्यक्ष दाहालले आश्वासन दिए । उनले शहीद थापाको जन्मस्थानमा निर्माण गरिने पूर्णकदको सालिक शिलान्यास गरे । कार्यक्रममा सङ्घीय प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले देशको राजनीतिक परिवर्तन शहीदको बलिदानीबाट प्राप्त भएको बताए । शहीदको सपना पूरा गर्दै योद्धाको योजनामा समृद्धिको यात्राअघि बढिरहेको उनको भनाइ थियो ।

प्रदेश सभासद अम्बिरबाबु गुरुङले गणतन्त्रले स्वतन्त्रता र सार्वभौमता दिलाए पनि नागरिक खानेपानीको पहुँच बाहिर रहेनुपरेको अवस्था सुनाए ।कार्यक्रममा पूर्व कानूनमन्त्री तथा काङ्ग्रेस नेता यज्ञबहादुर थापा, पूर्व सांसद रामहरि खतिवडा, हर्कबोल राई, केशव राई लगायतले क्याप्टेन यज्ञबहादुर थापा देशका शहीद भएको भन्दै राज्यले सम्मान गर्नुपर्ने बताए ।