ताजा समाचार

जेठ १५ गते २०७६

नयाँ परिवेशमा बूढानीलकण्ठको शिक्षा

बुढानिलकन्ठ स्कुलको पक्षमा र शिक्षामन्त्रीको कथित सो स्कुल प्रतिकुल अभिव्यक्तिलाई लिएर एकजना बुज्रुक पूर्व ‘मध्यमबर्गीय’ अभिवावकको लेख पढ्न पाइयो १३ जेठको नागरिक दैनिकमा। उक्त लेखमा लेखकले बुढानिलकन्ठ स्कुलले बिगतदेखि नै देशका विभिन्न जाति वर्ग र समुदायको स्थान सुरक्षित गर्दै निस्पक्ष प्रवेश परिक्षा मार्फत देशकै इज्जत बढाउने नागरिक उत्पादन गरेको तर्क राख्नु हुन्छ। त्यसबाहेक लेखक त्यहाँ विद्यार्थीलाई सम्बोधन गर्दा प्रयोग हुने निरपेक्ष सम्बोधन अनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको बिचमा पछिसम्म रहने ‘जिग्री दोस्ती’ पनि महत्वपुर्ण सकारात्मक पक्ष हो भन्नुहुन्छ। अन्त्यमा लेखकको  बुढानिलकन्ठ स्कुल सम्भ्रान्त पढ्ने स्कुल मात्र हैन पहिलेका राजा, अहिलेका रास्ट्रपति र मध्यम बर्गीय र गरिब सबै थरिको साझा थलो रहेको जिकिर प्रस्तुत् गर्नुहुन्छ।

यो पंक्तिकारको उदेश्य कुनै पनि रुपले शिक्षामन्त्रीको अभिव्यक्तिको समर्थन गर्नु हैन, न त उक्त विद्यालयको अस्तित्व माथि नै प्रश्न गर्नु। बरु त शिक्षामा राजनीतिक सामाजिक परिबर्तन संगै आउनु पर्ने परिबर्तन, देशको द्वन्दग्रस्त बिगत र द्वन्दको समाधानार्थ शिक्षाले खेल्नु पर्ने भूमिका लगायत शिक्षामा सामाजिक न्याय प्रदान गर्नुपर्ने राज्य/स्थानीय निकायको दायित्व, शिक्षामार्फत बालबालिकाको पहिचान र संस्कृतिक अधिकार सुनिस्चित गर्नुपर्ने राष्ट्रिय/अन्तरास्ट्रिय मान्यता आदिको आलोकमा बुढानिलकण्ठ स्कुलको बदलिँदो भूमिका हुनु पर्ने हो कि? भन्नेमा लक्षित छ।

सर्बप्रथम बुढानिलकण्ठ स्कुल अंग्रेजले तत्कालिन ब्रिटिश इंडियामा शुरुवात गरेको शैक्षिक मोडेल हो जहाँ समाजका सबै बर्गका केटाकेटीलाई पहुँच त दिइन्छ तर त्यसो गर्दा उनीहरुलाई एउटा आदर्श जबर्जस्ति लादिन्छ जुन आदर्श समाजका सम्भ्रान्तहरुको जीवनशैली हो। त्यसो गर्नु कुनै कुनै रुपले समाज/देशमा पहुँच राख्ने बर्गको भाषा, संस्कृति र संस्कार सिकाउनु पनि हो। यस्तो शिक्षा जसले  अधिकांश विद्यार्थी जसको संस्कार, संस्कृति र भाषालाई कि त वास्ता गर्दैन अथवा अपहेलित गर्छ भने त्यो शिक्षालाई हामि कसरि गुणस्तरीय भन्न सक्छौं? त्यो स्थापनाकालिन एप्रोच हालसम्म पनि जीवित रहेको उक्त स्कुलले आफुलाई परिस्कृत गरेको पाईदैन। बिद्यालयले देशको सामाजिक, संस्कृतिक र पहिचानको आवश्यकता अनुसार मौलिक र समाज सापेक्ष पाठ्यक्रम प्रस्तुत गर्नुको सट्टा त्यहि पुरातनकालिन शिक्षामै दत्तचित्त रहनु पक्कै पनि सुखद हैन।

अझ अनौठो त बिदेशी शैक्षिक प्रणाली जसको मूल उदेश्य विद्यार्थीलाई अंग्रेजी विश्वका विश्वबिद्यालयमा अध्ययनको लागि योग्य बनाउनु हो, त्यसलाई आफ्नो शैक्षिक प्रणालीमा समाहित गर्नु हो। के यतिका शिक्षित, राजनीतक, सामाजिक सोच हुने नेपालीले नेपालको प्रतिष्पर्धी मौलिक शिक्षाको मोडेल सोच्न सक्दैनौं? के देशको अग्रणी भनिएको संस्था अझ पनि दशकौं पुरानो प्रणालीबाट परिचालित हुनु सहि हो? हो लेखकले भनेजस्तै सो बिद्यालयमा कुनै समय पढेका विद्यार्थी सफल छन्, तर त्यो मात्र विद्यालयको सफलताको आधार मान्ने हो भने हरेक पूर्व विद्यार्थीको सामाजिक, संस्कृतिक, पारिवारिक, पेशागत सफलता हेरौं न त? भलै थोरै होलान त्यहि बिद्यालय पढेका बिद्यालयकालमा गाउँ गाउँ बाट छानिएका होनहार पुर्ब विद्यार्थीका असफलताका कथाहरु पनि उजागर गर्न सकिन्छ होला, हैन र? त्यसैले वर्तमानमा विद्यालयको मुल्यांकन समयक्रममा विद्यालय कति परिस्कृत रह्यो भन्ने बाट हुनुपर्छ।

दोश्रो पातलो तर्क विद्यार्थीलाई बिद्यालयले दिने निरेपेक्ष पहिचान र त्यसको कारण कसैले ठुलो सानो महसुस गर्नु नपर्ने परिपाटीलाई महत्वपूर्ण भनिएको छ। तर त्यो उपाय पनि अहिलेको सन्दर्भमा सहि हैन। किनभने आजभोली केटाकेटीको पहिचानको अधिकार महत्वपुर्ण छ। यसको अर्थ हाम्रा छोराछोरी आफ्नो भाषा, जात, धर्म र संस्कृतिप्रति गर्ब गर्न सक्ने त हुनुपर्छ नै, त्यसबाहेक फरकपन लाई स्वीकार्ने र आदर गर्ने हुनु आवश्यक छ। बिद्यालयले केटाकेटीलाई त्यसरी नाम/थरको सट्टा अंकमा सम्बोधन गर्नु बिल्कुल अप्राकृतिक हो र हाम्रो वास्तविक समाजमा रहेको बिबिधतालाई स्वीकार गर्ने भन्दा पनि बिर्सेर एउटा फरक संसार सृजना गर्नु हो। यो प्रवृतिले हाम्रा केटाकेटिलाई समाज बुझ्ने र स्कुलको मूल ढोका बाहिरको सामाजिक बिबिधतालाई स्विर्कान कसरि सिकाउला र?

त्यसबाहेक लेखकको तर्क के छ भने उक्त बिद्यालय समाबेशी छ, जहाँ बिगतमा राजा र रंकका छोराछोरी संगै पढ्ने गर्थे भने अहिले राजनेता, रास्ट्रपति, मन्त्रि लगायत सर्बसाधारणका छोराछोरी संगै पढ्छन। यो तर्कले उक्त विद्यालयको सकरात्मक भन्दा पनि नकारात्मक बिगतको निरन्तरता पुष्टि हुन्छ। प्रश्न के हो भने रास्ट्रपति वा प्रधानमन्त्रिका छोराछोरी सर्बसाधारण पढ्ने उनीहरुले चुनाब जितेर आएका क्षेत्रका बिद्यालय वा आफ्नो तत्कालिन बासस्थान भएको छिमेकका बिद्यालय जान किन सक्दैनन्? सम्भ्रान्त, सर्बसाधारण र अन्य संगै बसेर पढ्नु आवश्यक त हो तर त्यो भन्दा पनि महत्वपुर्ण विद्यालयले कुन मुल्य र मान्यता प्रबाह गर्ने हो, त्यहाँ कायम सुक्ष्म-संस्कृतिले कसरी  हाम्रो सामाजिक बिबिधता, भाषा/भाषिका, र बहुसंस्कृतिलाई स्वीकार्ने, सम्मान गर्ने र विद्यार्थीलाई आफ्नो मौलिक पहिचानमा गर्ब गर्दै अगाडी बढ्ने बनाउँन सक्छ भन्ने नै हो।

अझ हाल आएर आवासीय बिद्यालयको धारणा बिश्वभरि नै पुरानो भैसकेको छ। एक देश, एक भाषा र एक भेषको एकात्मक रास्ट्रीयता ब्याप्त कालमा स्थापना भएका त्यस्ता बिद्यालयको अस्तित्व अहिलेको पश्चिमा विश्वमा लगभग हराइसक्यो। त्यसबाहेक आफ्नो परिवार र छिमेकमा बाल्यकाल बिताउन पाउने बालबालिकाको अधिकार मानिने यो युगमा आवासीय बिद्यालयको अवाधराणा (कमसेकम १४/१५ वर्षसम्म) आफैमा अनुपयुक्त मानिन्छ।

त्यसबाहेक बिद्यालय शिक्षालाई स्थानीय निकायको परिधिमा राखिएको अहिलेको परिस्थितिमा रास्ट्रिय भनिने बुढानिलकण्ठ स्कुल, त्यहाँको जनशक्ति र स्रोत साधनलाई पुरानै शैली भन्दा पनि उन्नत सोच सहित प्रयोग गरिनु पर्छ। त्यसको लागि बिद्यालय स्वयंले नयाँ परिबेशमा आफुलाई परिस्कृत गर्ने, नयाँ आयामको शिक्षाको आधार प्रस्तुत गर्ने काम गर्नु उपयुक्त हुन्छ।