ताजा समाचार

जेठ १५ गते २०७६

फेरिए शासक, उस्तै रह्यो जनताको जीवन

जेठ १५ नेपाली राजनीतिक इतिहासमा महत्वपूर्ण दिन हो । २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गरेको थियो । नेपालमा पहिलो पटक गठन भएको संविधानसभाले शान्तिपूर्णरुपमा जसरी अभूतपूर्वरुपमा गणतन्त्र घोषणा गर्यो, यो नेपाली राजनीतिक इतिहासमा अभूतपूर्व घटना हो । यो घोषणासँगै २ सय ४० वर्षे राजतन्त्रमात्र अन्त्य भएन, नेपाली राजनीति नयाँ चरणमा प्रवेश गर्यो । यद्यपि गणतन्त्र प्राप्ति पछिको अवधिमा देशले अपेक्षा गरे अनुरुप प्रगति हासिल गर्न नसक्दा गणतन्त्रको संस्थागत विकास चाहिँ हुन सकेको छैन ।

जनताको शान्तिपूर्ण आवाजका अगाडि शासकहरू कसरी झुक्न बाध्य हुनुपर्ने रहेछ भन्ने एउटा उदाहरण पनि थियो त्यो । तत्कालीन राजा ज्ञानेन्द्रले मध्यरातमा दरबार छोड्नुपरेको थियो । हुन त ज्ञानेन्द्र शाहले २०६२/२०६३ सालको जनआन्दोलन दवाएर आफ्नो निरंकुश शासनसत्ताा टिकाउने कोसिस नगरेका भने होइनन् । त्यसका लागि दमनको बाटो अपनाउँदा नेपालबाट राजतन्त्रले बिदाइको बाटो रोज्नुपर्यो । जनताको परिवर्तनप्रतिको चाहना र बलिदानीपूर्ण संघर्षको बलमा नै नेपालमा गणतन्त्र स्थापना हुन सकेको हो । सहिदहरूको उचित सम्मानविना गणतन्त्र दिवस मनाउनुको कुनै सार्थकता रहँदैन ।

निरंकुश राजतन्त्रको कालो बादललाई चिर्दै र दशक लामो निस्सासिँदो सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण राजनीतिक प्रतिष्पर्धामा अवतरण गराएर गणतन्त्रको सूर्योदय भएको पनि डेढ दशक हुन लागेको छ । नेपालमा गणतन्त्रको घोषणासँगै हरेक वर्ष गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाउने गरिएको छ । गणतन्त्र दिवसका दिन सरकारले सार्वजनिक बिदा दिने गरेको भएपछि गत वर्षदेखि यो कटौतीमा परेको छ । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि घाइते तथा आपांग जीवन बिताइरहेका नागरिकको उचित व्यवस्थापननका लागि राज्यले जिम्मेवारी लिनैपर्छ । हामीले गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रलाई संस्थागत गर्नुपर्ने विषय पनि हाम्रासामु चुनौतीको रुपमा छ ।

जनताको परिवर्तनप्रतिको चाहना र बलिदानीपूर्ण संघर्षको बलमा नै नेपालमा गणतन्त्र स्थापना हुन सकेको हो । सहिदहरूको उचित सम्मानविना गणतन्त्र दिवस मनाउनुको कुनै सार्थकता रहँदैन ।

गणतन्त्र दिवस मनाउने सन्दर्भमा आयोजना गरिने केही औपचारिक कार्यक्रमले जनतालाई आकर्षित गर्न सकेको पाईंदैन । यसो हुनुको मुख्य कारण गणतन्त्र संस्थागत हुन नसक्नु नै हो । गणतन्त्रको संस्थागत विकास नहुँदा गणतन्त्र प्राप्तिको यो अवधिमा यो उपलब्धिलाई तुहाउन खोज्नेहरू पनि अनेक ढंगले परिचालन भएको छर्लंग छ । कोही त अझै पनि इतिहासमा सीमित भएको निरंकुुश राजतन्त्रको वकालत गरेर सस्तो मनोरञ्जन दिने दुस्साहस गर्दैछन् । यसो गर्नु भनेको गणतन्त्रका लागि बलिदानी दिएका, रगत पसिना बगाएका नेपाली जनताको अपमान शिवाय अरु केही हुनै सक्दैन । समृद्धि र सुशासन बिनाको कुनै पनि व्यवस्था दिगो हुन सक्दैन । यसलाई राजनीतिक दलहरूले मनन गर्न जरुरी छ ।

अन्त्यमा सबै नेपालीमा गणतन्त्र दिवसको हार्दिक शुभकामना ।


Loading...