ताजा समाचार

जेठ १५ गते २०७६

नेपालमा अव आर्थिक क्रान्तिको आवश्यकता छ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा अब आर्थिक क्रान्तिको आवश्यकता भएको बताएका छन् ।

गण्डकी प्रदेश मूल समितिद्वारा बुधबार पोखरामा आयोजित गणतन्त्र दिवस समारोहमा उनले राजनीतिक क्रान्ति सम्पन्न भएकाले नेपाली जनताको समृद्धि र विकासको चाहना पूरा गर्न अब आर्थिक क्रान्तिको विकल्प नभएको बताएका हुन् ।

नेपाली जनताको लामो समयदेखिको सङ्र्घषको उपलब्धिस्वरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको चर्चा गर्दै उनले संविधानको सफल कार्यान्वयनका लागि सबै पक्षको एकताबद्ध प्रयास आवश्यक भएको बताए ।

सङ्घीय राज्य प्रणालीको भावना र मर्मअनुरुप हाम्रो संस्कार, संस्कृति र कार्यशैलीमा परिवर्तन आउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले चरम भ्रष्टाचार, अनियमितता अन्त्यका लागि आजको दिनमा सामूहिक प्रतिबद्धता आवश्यक रहेकामा जोड दिए ।