ताजा समाचार

जेठ १५ गते २०७६

गणतन्त्र दिवस जनताको विजय र कुलिनतन्त्रको पराजय भएको दिन हो

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको बताएका छन् ।

गणतन्त्र दिवशको अवसरमा आज आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

गणतन्त्र आएको दिनलाई  नेपाली जनताले वि.सं. १९९७ सालभन्दा पहिलेदेखिको अभिष्ट पूरा भएको दिनको रुपमा स्मरण गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ  ।

“वलजफ्ती थोपरिएको अन्यायका विरुद्ध न्यायको जीत हो । शताब्दीऔंदेखि दबाइएका मानिसका आकांक्षा, पीडा र आँशु गणतन्त्र वहालीको संघर्षका पत्रपत्रमा समाहित छन् ” प्रधानमन्त्री ओलीले भने,“ लोकतान्त्रिक अधिकारबाट वञ्चित हुँदा पनि इश्वरीय देन यही हो भन्ने मानसिकताबाट जनता क्रमशः जागरुक हुँदै गएर वलिदानी भावनाका साथ अग्रसर भएपछि एक दिन आएको थियो, गणतन्त्रको निर्णायक मोड । तसर्थः हामीले हासिल गरेको गणतन्त्र र राजनीतिक उपलब्धिहरु जनताको कठोर संघर्ष र बलिदानका उपज हुन् । ”

प्रधानमन्त्री ओलीले ११ बर्ष अघि आजकै दिन नेपालमा जनताले गणतन्त्र स्थापना गरेर राजतन्त्रलाई इतिहासमा सीमित गर्ने सफलता प्राप्त गरेको स्मरण गरेका छन् । प्रधानमन्त्री ओलीले हरेक वर्ष गणतन्त्र दिवसलाई  एउटा प्रगतिशील परम्पराको शुरुवात भएको दिनको रुपमा स्मरण गर्नुपर्ने बताए ।प्रधानमन्त्री ओलीले विगत एक वर्षको अवधिमा सरकारले  सुशासन र विकासका लागि अवरोध पुर्याउने र आजको परिवेशमा असान्दर्भिक ठहरिएका कतिपय नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र खारेज समेत गरको उलेख गरेका छन् ।