प्रजातन्त्रसँगै राजा हिड्न नमानेपछि राजतन्त्र फालेको हो

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले विगतमा पटकपटक प्रजातन्त्रसँगै राजतन्त्रलाई हिँडाउने प्रयास गरे पनि राजाले प्रजातन्त्र नमानेपछि वाक्क भएर राजतन्त्र फाल्नु परेको बताएका छन् ।

काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘गणतन्त्र एक दशक’ विशेष अन्तरक्रियामा सभापति देउवाले यस्तो बताएका हुन् ।

काङ्ग्रेसले प्रजातन्त्र छोड्न नसक्ने र राजाले प्रजातन्त्रसँग हिँड्न नमानेका कारण गणतन्त्र ल्याउनु परेको धारणा व्यक्त गर्दै आफ्नो पार्टीले प्रजातन्त्रसँग कहिल्यै सम्झौता नगर्ने बताए । गणतन्त्रबाट फर्कने अब कुनै सम्भावना नभएको बताउँदै सभापति देउवाले आफूहरू प्रजातन्त्रसहितको गणतन्त्रको पक्षधर भएको बताए ।