ताजा समाचार

जेठ १४ गते २०७६

नेता दिनानाथ शर्मा भन्छन्,’संविधानमा पूर्ण प्रेस स्वतन्त्रता भनेर लेखाउने कांग्रेस नेता सिटौला र म हुँ’

राष्ट्रियसभाका सांसद तथा नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले राष्ट्रियसभा सचिवालयमा दर्ता भए पनि मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश गर्न बाँकी रहेको बताएका छन् ।  नेपाल पत्रकार महासंघले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकको बारेमा मंगलबार सांसदहरुसंग छलफलमा सो कुरा बताएका हुन् ।

उनले मिडिया काउन्सिल विधेयकमा चासो बढेकाले प्रतिपक्ष पार्टीका सांसद, सञ्चार तथा सूचना प्रविधि मन्त्रीलगायत सरोकारवालासंग छलफल गरी सहमतिका आधारमा अघि बढाउने गरी हाललाई उक्त विधेयक रोकिएको बताए । उनले लोकतन्त्रको विश्वव्यापी मुल्य मान्यता तथा संविधानको मर्म विपरित कुनै पनि ऐन, कानुन र विधेयकहरु राष्ट्रियसभाबाट अगाडि नबढाउने बताए ।

उनले भने,’ अहिले बनेको बिधेयक अन्तर्राष्ट्रिय अभ्यासका आधारमा बनेको छ या छैन हेरिनेछ । विभिन्न लोकतान्त्रिक मुलुकले गरेको अभ्यास समेतलाई अध्ययन गरि यो बिधेयकलाई परिमार्जन गरि हेरिने छ ।

त्यसैगरी संविधानले प्रत्यभुत गरेको अधिकार कटौती हुनेगरि आएको भए सो समेत परिमार्जन गरिनेछ । नेकपाको सरकार भएको बेलामा हामीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन हुने किसिमले कानुन नबनाउने समेत जिकिर गरे ।

संविधान निर्माण गरिरहेको अवस्था सम्झदै नेता शर्माले भने,’ संविधान बनाउदा पूर्ण प्रेस स्वतन्त्रता भनेर लेखाउने कांग्रेसका कृष्ण प्रसाद सिटौला र म नै हुँ । त्यसैले तपाईहरु ठुक्क बन्नुहोस म राष्ट्रियसभामा हुन्जेल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन हुने कानुन पास हुन दिने छैन ।’

राष्ट्रियसभाका प्रभावशाली सांसदहसहित सञ्चारमन्त्री गोकुल बास्कोटालाई समेत बोलाएर मिडिया काउन्सिल विधेयकमाथि छलफल गरिसकिएको बताए । उनले प्रतिपक्ष र सरोकारबालाहरु समेतको छलफल र सहमतिमा मिडिया काउन्सिल विधेयक अघि बढाउने समेत जानकारी दिए ।           

प्रतिनिधिसभा सांसद् तथा नेपाली कांग्रेसका सचेतक पुष्पा भुषालले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकले विचलन ल्याएको बताइन् । राज्यले पत्रकारलाई कलम चलाएवापत दण्ड गर्ने नियतबाट उक्त विधेयक ल्याएको भन्दै उनले जनताको आवजलाई रोक्ने विधेयकलाई सरकारले फिर्ता गर्नुपर्ने र लोकतान्त्रिक पद्धति रहेको देशमा त्यसका मुल्य मान्यतालाई पालना गर्नुपर्ने धारणा राखिन् ।

प्रतिनिधिसभाका सांसद् तथा राष्ट्रिय जनता पार्टिका नेता लक्ष्मणलाल कर्णले पत्रकारको अधिकार खोस्नु भनेको लोकतन्त्रको अधिकार खोसिनु सरह रहेको बताए । संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतलाई स्वीकार गरिसकेपछि कुनै पनि कानुन त्यसको विपरित आउनु नहुने भन्दै उनले मिडिया काउन्सिल विधेयकमा रहेका केही प्रावधानहरु प्रेस स्वन्त्रता विरोधी रहेको भन्दै त्यसलाई सच्याउनुको विकल्प नरहेको धारणा राखे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रस्तावित मिडिया काउन्सिल विधेयक अन्तर्राष्ट्रिय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मुल्य मान्यता विपरिता रहेको भन्दै त्यसलाई फिर्ता गर्नुपर्छ भन्ने महासंघको स्पष्ट धारणा रहेको बताए ।

कार्यक्रममा महासंघका सचीव रामप्रसाद दहालले अहिलेको बिधेयक जस्ताको त्यस्तै पारित भए पत्रकारिता पेशा गर्न नसकिने औल्याए ।

महासंघका केन्द्रीय सदस्य यम विरहीले नेपाल मिडिया काउन्सिल विधेयकको प्रस्तावनादेखि हरेक दफामा परिमार्जन गर्नुपर्ने देखिएको बताए । 

कार्यक्रममा लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडीले जुनसुकै सरकारका पालामा पत्रकार तथा प्रेसले आन्दोलन गर्नुपरेको भन्दै सरकारले ल्याएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता हुनुपर्ने धारणा राखे ।

प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका निम्ति मिडिया काउन्सिल विधेयकको बिरोध गरेको भन्दै उक्त विधेयकलाई  फिर्ता गर्न पहल गरिदिन आग्रह गरे ।

क्रियाशील पत्रकार संघका अध्यक्ष अम्बिका राजथलाले मिडिया काउन्सिल विधेयकको अध्ययन गर्दा लैङ्गिकमैत्री नदेखिएको भन्दै संविधानको परिकल्पना, मर्म र भावना अनुसार त्यसलाई समावेशी गर्नुपर्ने बताए ।