ताजा समाचार

जेठ १४ गते २०७६

कांग्रेसमा २ गुट छन्, ‘कांग्रेस भएर रुखमा भोट हाल्ने र कांग्रेस भएर अन्यत्रै भोट हाल्ने’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले वर्तमान सरकारले एकदलीय अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । हिमाल पहाड तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाल तरुण दल कास्कीले आयोजना गरेको ‘विपतमा तरुण दल’ विषयक अभिमुखीकरण कार्यक्रममा नेता जोशीले अधिनायकको विरुद्ध तरुण दलले खवरदारी गर्नुपर्ने बताए ।

‘वर्तमान सरकारले एकदलीय अधिनायकवाद लाद्नका लागि विभिन्न विषयमा विधेयक दर्ता गराएर कांग्रेसको नाडी छाम्ने काम गरेको छ’, नेता जोशीले भने, ‘सवैलाई अंकुश लगाउँदै अधिनायकवाद लाद्ने वर्तमान सकार क्लियरकट छ । अब यसको विरुद्धमा तरुण जाग्नुपर्ने बेला आएको छ ।’

पार्टीको जागरण अभियान पनि वर्तमान सरकारको अधिनायकवाद विरुद्ध आन्दोलन र विरोधको तयारी भएको उनले जानकारी दिए । ‘अभियन गाँउगाउँमा कार्यकर्ता जगाउँदै आन्दोलनको तयारीको शुरुवात हो’, उनले भने, ‘अधिनायकको विरुद्ध आन्दोलन र विरोधमा उत्रिनका लागि तयार भएर बस्नुहोस् ।’

नेतासँग रिस उठेको छ भने महाधिवेशनमा हराइदिन आग्रह गर्दै उनले नेताहरूलाई सार्वजनिक ठाँउमा गाली गर्नु भन्दा पनि अधिनायक विरुद्ध जाग्नु पर्ने बेला आएको बताए ।
उनले कांग्रेसमा कांग्रेस भएर रुख चिन्हमा भोट हाल्ने र कांग्रेस भएर अर्कै चिन्ह्मा भोट हाल्ने २ गुट भएको बताउँदै यसलाई सच्याउन लाग्नु पर्ने बताए ।

‘काँग्रेसमा गुट छ भने त कांग्रेस भएर रुख चिन्हमा भोट हाल्ने र काँग्रेस भएर अर्कै चिन्ह्मा भोट हाल्ने २ गुट छ’ उनले भने, ‘यस्ता मान्छेलाई फलाने देउवाको फलानो पौडेलको भन्दा पनि कांग्रेसमा भोट नहाल्नेलाई नेतासँग ट्याग लाईदिने काम हामीले गर्नुुहुँदैन ।’ कांग्रेसले भरोसा गरेको संस्था तरुण दल भएको बताउँदै उनले देशको भष्ट्राचार विरुद्ध खरो भएर उत्रिन तरुण दललाई आग्रह गरे ।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले तरुण दल जहिले पनि जनताको साथ र माझ रहने स्पष्ट पारे । ‘वर्तमान ओली सरकारले अहिले देशलाई नै विपद्तिर धकलेको छ’, उनले भने, ‘लोकतन्त्र रक्षाका लागि अव तरुण दल लड्नुपर्ने बेला आएको छ ।’

लोकतन्त्र रक्षा गर्नका लागि सम्पूण तरुण जोश, जाँगर र विचार वोकेर हिंड्नुपर्ने बेला आएको उनको भनाई थियो ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले चट्टान जस्तो ढाल बनेर उभिने भातृ संस्था भनेको तरुण दल भएको बताउँदै तरुण दललाई पार्टीले सशक्त बनाएर लैजानुपर्ने खाँचो औंल्याए ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ का सचिव दिपेन्द्र मरासिनी र प्रशिक्षक दिलिप गुरुङले विपद व्यवस्थापनको विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका पूर्व सभापति सोभियतबहादुर अधिकारी, तरुण दलका पूर्व केन्द्रीय सदस्य ऋषिराज काफ्ले, तरुण दलकी केन्द्रीय पार्षद जमुना श्रेष्ठ लगायतले बोलेका थिए ।

नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दिपक गुरुङले स्वागत र सचिव नरेन्द्र थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।