ताजा समाचार

जेठ १४ गते २०७६

सडक दुर्घटना किन हुन्छ ?

सडक दुर्घटना किन हुन्छ ? त्यसको रोकथाम गर्न के के गर्नुपर्छ? मोटरसाईकल दुर्घटना किन कसरी हुन्छ ? त्यसको रोकथाम के कसरी हुन्छ? त्यता तिर काम गर्ने कि, दुर्घटना भएपछि टाउकोमा चोट गंभीर चोट नलागोस् भनेर त्यसलाई कसरी जोगाउने तिर लाग्ने? कुनै दुर्घटना हुदा टाउको जोगाउन नै जनताको खल्तिबाट पच्चिसौ अर्ब खर्च गराउने हो भने त अब देखि बस, कार, जीप, ट्रक, ठेलागाडा, साईकल, रिक्सा, हवाईजहाजमा यात्रा गर्नेहरूले र पैदल यात्रूहरूले पनि हिड्दा हुने दुर्घटनाबाट टाउकोमा गंभीर चोट लाग्नबाट जोगाउन हेल्मेट लगाउन अनिवार्य गर्नुपर्ने देखियो।

मगज पनि कहॉसम्म हो सडेको हामी नेपालीको ! टाउको दुखेको ओखति नाईटोमा ! कि पैसाले शिवजीको तेश्रो नेत्र पनि खोलिदिएको हो? मोटरसाईकल दुर्घटना हुनुको प्रमुख कारणहरू-

१. सडकभरि खाल्डाखुल्डी, तर्काउन खोज्दा अर्कोसंग ठोक्किनु; सडक खाल्डाखुल्डी नदेखिनाले जाक्किनु;

२. स्पीडब्रेकर अग्लो र मापदण्डका नहुनु,

३. रोड मार्किंग प्रष्ट नहुनु; जेब्रा क्रसिंग नहुनु;

४. सडक बत्ति नहुनु;

५. बिपरित दिशाको गाडीको हेडलाईट चर्को हुनु;

६. बाटोमा अत्यधिक धूलोका कारण ऑखामा कण पस्नु,

७. अत्यधिक सडक जामका कारण जथाभावी ओभरटेक हुनु;

८. हाईस्पीडमा सवारी चलाउनु, मोड्ने र चटक देखाउन स्मार्ट बन्न खोज्नु, चल्ति सवारीमा मोबाईल प्रयोग गर्नु;

९. सवारी अनुशासन नियम पालन नगर्नु;

१०. चल्ति सवारीमा गफ गर्नु ध्यान अन्त मोडिनु;

११. सडकको मोड डिजाईन संकेत चिन्ह, रिफ्लेक्टर, रोड क्रसिंग ट्राफिक लाईट दुरूस्त नहुनु अभाव हुनु र तिनका मर्मत संभार सही नहुनु,

१२. राम्रा चिल्ला सडकमै पनि त्यहॉका ढलका मँगालका ढक्कनहरू सडकको सतहमुनि तल धस्सिसकेर खाल्डो पर्नाले त्यसमाथि गुड्दा दुर्घटना हुनु;

१३. सडकमा ढल पानीका पाईप निर्माण गर्दा खुलै ह्वांग्ग राखिनु, सुरक्षा घेरा बेरिकेट नबनाउनु, निर्माणस्थलमा देखिने गरी उज्यालो पनि नपार्नु;

१४. सडकमा छाडा चारपायॉ छाड्नु;

१५ ट्रक बस टिपर जीप कारसंग मोटरसाईकल ठोक्किएपछि ब्याक गियर गरेर चालकलाई मारिदिनु;

१६. दुर्घटना भए पछि घाईतेलाई तत्काल अस्पताल पुर्याउन ढिला गर्नु, प्रहरीको झमेलामा फस्नाले अकालमा मृत्यु हुनु तर मरेपछि टाउको फुटेर मरेको हो भनेर टार्नु र हेल्मेट नलगाएरै वा कमजोर लगाएर मर्यो भनेर दोषदिनू।