ताजा समाचार

जेठ १४ गते २०७६

उपराष्ट्रपति महिला फुटबल लिग ६ महिना चल्ने

उपराष्ट्रपति महिला फुटबल लिग फुटबल प्रतियोगिता ६ महिना चल्ने भएको छ ।

एक सातामा सकिने महिला फुटबल लिगको परम्परा तोड्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले छनोट चरणसहित प्रतियोगिता भदौदेखि माघसम्म सञ्चालन गर्न लागेको हो ।

गत वर्ष कर्माछिरिङ शेर्पा एन्फा अध्यक्षमा निर्वाचित भएपछि महिला फुटबलमा लगानी बढाउने उद्घोष गरेका थिए । एन्फा प्रवक्ता किरण राईले महिला फुटबल विकासका लागि लिग कोसेढुंगा हुने अपेक्षा गरेका छन् ।

एन्फाले सात प्रदेश र तीन विभागीयसहित १० टोलीसम्मिलित मुख्य लिग एउटै मैदानमा खेलाउने तयारी गरेको छ । सम्पूर्ण व्यवस्थापन एन्फाले गर्ने उनले जानकारी दिए । छनोट प्रतियोगिता भदौ २० बाट सुरु हुनेछ । महिला लिग माघ २८ मा सकिने एन्फाले जनाएको छ ।