ताजा समाचार

जेठ १३ गते २०७६

‘मिडिया काउन्सिल विधेयक आउनु विडम्वना’

पोखराका अग्रज तथा लोकतन्त्रमा आस्थावान पत्रकारहरूले राज्यको चौथो अंक पत्रकार र स्वतन्त्र पत्रकारितामाथि निर्मम प्रहार गर्ने हेतुले मिडिया काउन्सिल विधेयक आउनु विडम्वना भएको बताएका छन् ।

उनीहरूले सरकारले संसदमा पेश गरेको विधेयक कुनै पनि हालतमा फिर्ता लिनुपर्नेमा जोड दिंदै विधयेक फिर्ता नलिए सशक्त आन्दोलन गर्नुपर्ने बताए ।

नेपाल प्रेस युनियनको २८ औं स्थापना दिवसको अवसरमा पोखरामा आयोजित ‘प्रेस स्वतन्त्रताको अवस्था र प्रेस युनियनको भूमिका’ विषयक अन्तरक्रियाका वक्ता पत्रकारहरूले प्रेस जगतलाई संकुचित पारेर कुनै पनि क्षेत्र अघि बढ्न नसक्ने भन्दै त्यसतर्फ सबै पत्रकारको ध्यान जानुपर्ने खाँचो औंल्याए । यस्ता गम्भीर विषयमा विचारका आधारमा पत्रकारहरू विभाजित हुन नहुने उनीहरूले बताए ।

अग्रज पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी केशवराज पराजुलीले पत्रकारले आफ्नो विवेक प्रयोग गरी लेख्न पाए मात्रै स्वतन्त्र पत्रकारिता भन्न मिल्ने बताए । उनले पत्रकार कुनै पार्टीको झण्डा नबोकि लोकतन्त्रको पक्षमा उभिनुपर्ने खाँचो औंल्याउँदै पत्रकार लोभ र लालचमा पनि पर्न नहुने बताए ।

उनले वर्तमान सरकारले मिडिया काउन्सिल विधेयक संसदमा पेश गरेर पत्रकारमाथि अंकुश लगाउन खोजेको भन्दै त्यसलाई विफल बनाउन सबै पक्षका पत्रकारहरू एकतावद्ध भएर संघर्ष गर्नुपर्नेमा जोड दिए ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पत्रकारको कलम डगमगाए लोकतन्त्रमाथि आघात पुग्ने भन्दै लोकतन्त्र बचाउ गर्नकै लागि भए पनि आन्दोलनको विकल्प नभएको बताए । सरकारले मिडिया काउन्सिल विधेयक ल्याएर प्रेसमाथि नांगो हस्तक्षेप गरेको भन्दै उनले यस विरुद्ध ठूलो लडाइँ आवश्यक रहेको स्पष्ट पारे ।

प्रेस युनियनको इतिहास र वर्तमान अवस्थाबारे चर्चा गर्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र बाँस्तोलाले पत्रकारका थुप्रै मुद्धा रहेकाले त्यसविरुद्ध संघर्ष आवश्यक रहेको बताए । उनले पत्रकारको अक्षर नदेख्ने अन्धो र आवाज नसुन्ने बहिरो सरकारलाई ठीक ठाउँमा ल्याउन सशक्त सडक अन्दोलन आवश्यक रहेको बताए ।

पत्रकार महासंघ कास्कीका कार्यबाहक अध्यक्ष विमला भण्डारीले सरकारको रवैयाप्रति सबै पत्रकार एकजुट भएर विरोध गर्नुपर्ने खाँचो औंल्याइन् । उनले २ तिहाइको दम्भको आडमा मिडिया काउन्सिल विधेयक आउनु विडम्वना भएको भन्दै सरकारको यो दम्भ धेरै दिन टिक्न नसक्ने दावी गरिन् ।

अग्रज पत्रकार यज्ञराज बाँस्तोलाले कलमको अगाडि तरबार र बन्दुक टिकेको इतिहास नभएको भन्दै वर्तमान सरकारले मिडियामाथि जति धावा बोले पनि अततः झुकेरै छाड्ने दावी गरे ।

नेपाल ज्योतिष पत्रकार महासंघका अध्यक्ष डा. बलराम उपाध्याय रेग्मीले प्रेस स्वतन्त्रताको पक्षमा कांग्रेस जत्तिको विश्वासिलो पार्टी अन्य हुन नसक्ने भन्दै कांग्रेसको गलत प्रवृत्तिमा पत्रकार चुप लाग्न नहुने बताए ।

कानून व्यवसायी मीना रानाभाटले कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकालाई सही बाटोमा हिंडाउने प्रेस जगतमाथि नै अंकुश लागउने प्रपञ्च रहेर वर्तमान सरकार तानाशाहीतर्फ उन्मुख भएको आरोप लगाइन् ।

कार्यक्रममा युनियनका केन्द्रीय सदस्यहरू ऋषिकान्त पौडेल, सरिता तिम्सिना पगेनी, टंकराज अधिकारी, नेपाल पत्रकार महासंघ कास्कीका सदस्यद्वय कमल पौडेल अथक र प्रकाश ढकाल, युनियन कास्कीका निवर्तमान अध्यक्ष शिरोमणि बराल, पत्रकार हिमनीधि लौडारी, वासुदेव पौडेल, नेपाल ट्रेड युनियन कांग्रेसका गण्डकी संयोजक मुरारी शर्मा, कांग्रेस नेतृ रंगीला आचार्य, कार्यक्रम संयोजक सन्तोष सुवेदी लगायतले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको विरोध गरेका थिए ।

नेपाल प्रेस युनियन कास्कीका कार्यबाहक अध्यक्ष प्रकाशचन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रदीप पौडेलले गरेका थिए ।