ताजा समाचार

जेठ १३ गते २०७६

नेपाल साप्ताहिक जलाइयो

कान्तिपुर पब्लिकेसनले प्रकाशन गर्ने नेपाल साप्ताहिक हेटौंडामा जलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्केच बनाएर नेपालले क. बाहुबली’ शीर्षकमा छापिएको १९ जेठ २०७६ को अंक आज जलाइएको हो ।

‘२१ घटनाले बताउँछन् ओलीमा शक्तिको असीमित तिर्खा छ’ सव–हेडलाइन राखेर नेपालले समाचार छापेको थियो । कभर फोटोलाई लिएर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सामाजिक सञ्जालमा पनि आलोचना गरिराखेका छन् ।

आइतबार हेटौंडा बजारको चोकमा सत्तारूढ नेकपाकै कार्यकर्ताले नेपाल साप्ताहिक जलाएका हुन् । उनीहरुले कति प्रति जलाए भन्ने खुलेको छैन ।

‘म्यागेजिन हिजो जलाएका रहेछन् मैले आज बिहान थाहा पाएँ,’ नेपाल साप्ताहिकका सम्पादक बसन्त बस्नेतले भने, ‘पत्रिका जलाउने घटना आफैंमा दुःखद हो ।’ उनले कभरमा छापिएका फोटो कसैको चरित्र हत्या गर्ने नियतले नछापिने पनि प्रष्ट पारेका छन् ।