ताजा समाचार

जेठ १२ गते २०७६

सरकारी संस्था किन कमजोर भए ?

यो मुलुकमा सरकारी संस्थाको प्राविधिकीय क्षमता निरन्तर स्खलित हुदै गैरहेको पाईन्छ । सरकारी प्राविधिक विभागहरू आफै केही गर्दैनन्, गर्न पनि सक्दैनन् गर्न प्रोत्साहित गर्ने नीति कार्यक्रम पनि छैन र सबै काम कन्सल्ट्यान्टलाई दिएर ढुक्कसंग सबै बॉडीचूडि मजा लिने कुव्यावसायिक संस्कारले गॉजेको छ । आफै डिजाईन, निर्माण सुपरिवेक्षण, सर्वेक्षण, संभाव्य अध्ययन, डिटेल डिजाइन, टिओआर तर्जुमा गर्दैनन्, रिसर्चशुन्य छ, अभिनव कुन चराको नाम हो मतलब छैन। सबै विभागको कोर क्षमता डिजाईन र सर्वेक्षण हो तर अहिले ती प्रभागहरू मरिसकेका छन् ।

विकासको कुरामा डिंग हॉक्ने नेताहरूलाई आफ्नो मुलुक र संगठन र प्राविधिज्ञ समुदायको क्षमता के छ मतलब छैन, त्यो विकासमा नेपाली विज्ञ उपलव्ध छन् छैनन् /संस्था छ छैन मतलब छैन । विदेशी पैसा, विदेशी प्रविधि, विदेशी जनशक्ति, विदेशी बुद्धि, विदेशी विज्ञ र विदेशीले नै कमाएर आफ्नो मुलुक लैजाने विकासका मोडालिटी अपनाएर जनतालाई चकाचौधको झिलिमिली चटक देखाएर भुलाउने मोडल वनाउदा र फलाक्दा फुर्सद नै छैन । आफ्नो मुलुकको वर्तमान र भविष्यको प्राविधिक बैज्ञानिक क्षमता विकास गर्ने बारे ती सपना पनि देख्न नसक्ने अवस्थामा निरीह छन् । अधिकारकेन्द्रित र श्रोतमा कसरी हुन्छ कब्जा जमाउने समावेशी समानुपातिक वितरणमूखी बन्ने भन्ने राजनीतिक mode र संघर्षमा मै कुस्ताकुस्ति चल्छ । यस्तो दुर्गन्धित रणमैदानमा प्राविधिज्ञवर्ग पेशामा पोक्त बर्ग पस्ने कुरै आउदैन ।

विज्ञान, प्रविधि, व्यवस्थापन अर्थशास्त्र पर्यावरण जेमा यी नेता नै आफूलाई सर्वज्ञ बनिटोपल्छन् । मुलुकको प्राविधिक क्षमता तन्नम छ, कुरा चैं केके गर्छन् केके । प्राविधिक व्यवस्थापन र क्षमता बढाउने कुनै योजना वा भिजन पाईन्न । यस्ता विषयमा कुनै विज्ञ प्राविधिज्ञ अर्थशास्त्र क्षेत्रका मुर्धन्य नेता अघि सरेर बोलेको वा समन्वय गरेको भए पो अलिकति विश्वास जाग्थ्यो र पत्याईन्थ्यो ! दलीय बुद्धिजीवीहरू औकात र हैसियत कहॉ हुन्छ र सत्य तथ्य बोलेर नेताहरूको दारूको मात उतार्न ऑखामा ऑखा जुधाएर बोल्न र बहस गर्न !
लेखक नेपाल सरकारका पूर्वसचिव हुन् ।