ताजा समाचार

जेठ १२ गते २०७६

नारायणहीटिभित्र बनेको गणतन्त्र सङ्ग्रहालय जेठ १५ देखि खुला हुँदै

नारायणहीटिभित्र बनेको गणतन्त्र सङ्ग्रहालय यही जेठ १५ देखि सर्वसाधारणका लागि खुला हुँदैछ । सङ्ग्रहालयभित्र गणतन्त्रसँग सम्बन्धित तस्बिर, सम्बन्धित सामग्री, लेखरचना आदि सङ्कलनको जिम्मा नेपाल कला परिषद्ले पाएको छ । परिषद्ले आफ्नो ७५ प्रतिशत काम पूरा गरिसकेले १५ गते खुल्ला गरिने परिषद्का कार्यकारी सदस्य नरेश सैँजुले जानकारी दिएका हुन् ।

पहिले नारायणहिटी सङ्ग्रहालयभित्र पूर्व राजाहरूको जीवनशैली, खानपान, उनीहरूले प्रयोग गरेका लत्ताकपडा आदि मात्र हेर्न पाइन्थ्यो । सङ्ग्रहालय स्थापना भइसकेपछि नेपालमा प्रजातन्त्रको प्राप्ति कसरी भयो, राजतन्त्रको अन्त्य कसरी भयो भन्ने जानकारी पछिका पुस्ताले समेत अवलोकन गर्न पाउने परिषद्का सदस्यसचिव जीवन राजोपाध्यायले जानकारी दिए ।

परिषद्ले तस्बीर सङ्कलनको काम पूरा गरिसकेको उहाँले जानकारी दिए । सङ्ग्रहालयले गणतन्त्रसम्बन्धी जानकारी दिने मात्र नभई विभिन्न अध्ययन अनुसन्धान गर्ने व्यक्तिलाई समेत सहयोगी भूमिका खेल्नसक्ने परिषद्का अध्यक्ष तथा संस्कृतिविद् सत्यमोहन जोशीले बताए । नेपाल सरकारको रु ४२ करोडको लगानीमा बन्न लागेको उक्त सङ्ग्रहालय सजाउने जिम्मेवारी वैशाख ८ गते परिषद्लाई दिइएको थियो ।