ताजा समाचार

जेठ १० गते २०७६

विद्यालयमा भ्रष्टाचार गरेको भन्दै प्रअ थापा विरुद्ध अख्तियारद्धारा मुद्धा दायर

नक्कली कागजात बनाएर अस्थाई शिक्षिकाको तलव खाएको र अबैधानिक रुपमा शिक्षक भर्ना गरी भ्रस्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रधानाध्यापक विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

बाग्लुङको भिमगिठे स्थित माँझखर्क प्राथमिक विद्यालयका प्रधानाध्यापक विजयबहादुर थापाले सट्टा शिक्षकको नाममा सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रअ थापाले सो विद्यालयमा अध्यापन गराउने अस्थायी शिक्षिका चन्दा थापा विसं २०७२ चैतदेखि विद्यालयमा अनुपस्थित भई जापानमा रहेको भए पनि विसं २०७३ फागुनसम्मको तलबभत्ता माग गरी खाई मासी भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ ।

अस्थायी शिक्षिका थापा लामो समयसम्म विद्यालयमा नरहेको अवस्थामा बिदा स्वीकृत नगराएको, सोको जानकारी साविक जिल्ला शिक्षा कार्यालय, बाग्लुङलाई जानकारी नदिइ आकाश थापा र अस्मिता घर्तीलाई कानुनी प्रक्रिया विपरित सट्टा शिक्षक नियुक्ति गरी रु दुई लाख ८१ हजार ३०१ बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले दाबी गरेको छ ।

सट्टा शिक्षक आकाशले गैरकानूनी तवरले चन्दा थापाको नामबाट तलब निकासा माग गरेको, हाजिरकापीमा विसं २०७३ असोज मसान्तसम्मको नक्कली हाजिर गरी सरकारी रकम लिन र खान मतियारको भूमिका निर्वाह गरेको आरोप लगाउँदै आयोगले विशेष अदालतमा विहिबार मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।