ताजा समाचार

जेठ ९ गते २०७६

सरकारले संविधान विपरित नियमावली र निर्देशिका जारी गर्न हुन्न

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान र कानुनको मर्म विपरित नियमावली र निर्देशिका जारी नगर्न सरकारलाई सचेत गराएका छन् ।

बिहीबार काठमाण्डुमा आयोजित प्रत्यायोजित विधायनसम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले संविधानको मर्म विपरित सरकारले नियमावली र निर्देशिका जारी गरे–नगरेको कडा निगरानी गर्न पनि राष्ट्रिय सभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिलाई निर्देशन दिए ।

संविधानको स्पिरिट अनुसार कानुन र कानुनको परिधिभित्र रहेर नियमावली तथा निर्देशिका जारी गर्न पनि संघीय संसद र सरकार दुवैको गम्भिर ध्यानाकर्षण गराए ।अध्यक्ष तिमिल्सिनाले संविधानको मर्म अनुसार कानुन बनाउने कुरामै जटिलता आउन थालेको उल्लेख गर्दै सम्बन्धित पक्षलाई सावधानीपूर्वक कानुन निर्माण गर्न सतर्क पनि गराए ।