ताजा समाचार

जेठ ८ गते २०७६

ओलम्पिक दिवसमा पम्परागत ठेलो प्रतियोगिता

गाँउघरतिर परम्परागत रुपमा फालिने ठेलो अब प्रतियोगिताको संस्करणको रुपमा अगाडि बढ्ने छ । केही साता अघि मात्रै भुतपूर्व खेलाडी मञ्च नेपालले नेपाली मौलिक परम्परागत खेल ठेलोको संरक्षण र सम्बद्र्धन गर्दै प्रतियोगिताको रुपमा आयोजना गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार मञ्चले अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा पोखरामा ठेलो प्रतियोगिता आयोजना गरिने जनाएको छ ।

प्रतियोगिता स्थानीयमा मात्रै सीमित नभई गण्डकीप्रदेशस्तरीय आयोजना गरिने मञ्चले जनाएको छ । आगामी असार १० र ११ गते पोखराको पुरानो टुँडिखेलको मैदानमा पहिलो पटक ठेलो हान्ने प्रतियोगिता आयोजना गरिने मञ्चका सदस्य कृष्ण तिमिल्सिनाले जानकारी दिए । गाउँघरका विभिन्न चाड पर्व विशेष र मेलाहरुमा ठेलो हान्ने प्रचलन छ । तर त्यसलाई प्रतियोगिताकै रुपमा भने पहिलो पटक ऐतिहासिक प्रतियोगिता हुने विश्वास मञ्चले गरेको छ । मञ्चले दुईदिनअघि मात्रै बसेको बैठकले ठेलो प्रतियोगिता गर्ने निर्णय गरेको हो । विशेष गरी महिला खुल्ला र पुरुष तर्फ जुनियर र सिनियर तर्फ प्रतिस्पर्धा गराईने उद्देश्य राखिएको मञ्चका सदस्य तिमिल्सिनाले सुनाए । उनका अनुसार प्रदेश सरकारले आर्थिक सहयोग उपलब्ध गराएको अवस्थामा खेलाडीलाई नगद पुरस्कार समेत प्रदान गरिने छ ।

महिला खुल्ला तर्फ १६ पाउण्डको तौलको ठेलो रहने छ । पुरुषको जुनियर तर्फ १२ पाउण्ड र सिनियर तर्फ १८ पाउण्डको हुने छ । एक पाउण्डको बराबर ४५३ ग्राम हुने छ । १८ पाउण्ड(८ किलो १६५ ग्राम)को तौलको ठेलोलाई फ्याँक्ने छन् । खेलाडीले दौड भने आफनो अनुकुलमा दौडिएर फ्याँक्न सक्ने छन् । यद्यपी सामान्यत २५ देखि ३० मिटरको दुरी दौडिएर फाल्ने सम्भावना रहन्छ ।

प्रतियोगितालाई भब्यताका साथ सम्पन्न गर्न मञ्चका महासचिब खेमबहादुर गुरुङको संयोजकत्वमा ७ सदस्यिय उपसमिती गठन गरिएको छ । गठित निर्णय मस्यौदाको संयोजकमा तेजबहादुर गुरुङ र सदस्यमा कृष्ण तिमिल्सिना, प्राविधिक समिति संयोजकमा खड्ग रानाभाट र सदस्यमा विश्व तण्डुकर र कृष्ण गुरुङ, प्रचार–प्रसार संयोजकमा केशव पाठक रहेका छन । र मैदान व्यवस्थापनमा संयोजकमा दिलबहादुर गुरुङ र सदस्यमा तिलक के.सी., समारोह व्यवस्थापन संयोजकमा हरि प्रसाद पराजुली र सदस्यमा पुष्पा श्रेष्ठ, स्वयमसेवक व्यवस्थापन संयोजकमा जुम प्रसाद गुरुङ र सदस्यमा भरत आले रहेका छन ।

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा समेत समावेश गराउन तयारी गरिएको छ । पहिलो पटक परम्परागत खेल ठेलो प्रतियोगिता हुन लागेको उप समिती संयोजक खेमबहादुर गुरुङले बताएका छन । महिला र पुरुष गरी गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडीहरु दुई दिनसम्म पोखराको टुडिखेल मैदानमा भिड्ने छन । ११ जिल्लालाई परिपत्र गर्ने तयारी गरिएको उल्लेख गर्दै सदस्य तिमिल्सिनाले एक साताभित्रमा सबैजसो विवरण आईसक्ने स्पष्ट पारे ।

kheladinews.com