ताजा समाचार

जेठ ८ गते २०७६

पार्टीले म माथी अन्याय गर्यो तर पार्टीको आदेश मान्न तयार छु

नेकपाले शक्तिशाली जनवर्गीय संगठन अनेरास्ववियूको सह–संयोजकको जिम्मेवारी दिएपछि असन्तुष्ट रहेका तत्कालीन अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले पार्टीको निर्णय र निर्देशन मान्ने बताएका छन् ।

बुधबार विहान गृह जिल्ला झापामा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै तामाङले आफूमाथि पटक–पटक अन्याय हुने गरेको भए पनि पार्टीको निर्णय र निर्देशन मान्दै आएको बताएका हुन् ।

नेकपाको जनवर्गीय संगठनहरुको एकता घोषणा गर्दा अन्य संगठनमा पूर्व अध्यक्षहरुलाई संयोजक र सहसंयोजकको जिम्मेवारी दिंदा अनेरास्ववियूमा भने तत्कालीन अनेरास्ववियुका महासचिव ऐन महरलाई संयोजकको जिम्मेवारी दिएर तत्कालीन अखिल (क्रान्तिकारी)का अध्यक्ष तामाङलाई सह–संयोजकको जिम्मेवारी दिएपछि तामाङसहित क्रान्तिकारीका नेताहरु असन्तुष्ट बनेका थिए ।

पार्टीले आफुमाथी अन्याय गरेको भन्दै पत्रकार सम्मेलनमा तामाङले पार्टीको निर्णय र निर्देशन मान्ने तर, एकवर्षभित्र एकताको महाधिवेशन हुनुपर्ने शर्त राखेका छन् । तामाङलाई आफूलाई फरक जिम्मेवारी दिए सह–संयोजकको जिम्मेवारी छाड्ने समेत बताएका छन् ।

पार्टी नेतृत्वले जिम्मेवारी तोक्दै गर्दा तामाङले त्यसप्रति आपत्ति जनाउदै गृह जिल्ला पुगेर आफ्नो आधिकारिक धारणा राख्ने बताएका थिए। पार्टी एकता संगठनात्मक मात्र नभई भावनात्मक पनि हुनपर्ने भन्दै उनले नेकपामा त्यसको अभाव भएको जिकिर गरे।