ताजा समाचार

जेठ ८ गते २०७६

प्रहरीको गोली लागेर मारिए विप्लवका कार्यकर्ता

भोजपुरमा प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ता मारिएका छन् । प्रहरीको गोलीले पहिलो पटक विप्लव कार्यकर्ता मारिएका हुन् ।

भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको हो । षडानन्द नगरपालिका–२, कुदाककाउलेका ३२ वर्षीय घिमिरे उपचारका लागि लैजानै गर्दा बाटैमा मृत्यु भएको हो ।

प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरेको छ भने नेकपा सगरमाथा व्युरोले आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको जनाएको छ ।

गस्तीमा पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि जवाफी फायर गरेको प्रहरीको दाबी छ । प्रहरीले पेस्तोल, गोली, बायनाकुलर, प्रचारप्रसारका सामग्री समेत बरामद गरेको बताएको छ ।