ताजा समाचार

जेठ ८ गते २०७६

सगरमाथाको उचाइ कति ?

सगरमाथाको उचाइ कति छ ? सामान्यतया अहिलेसम्म पढ्दै र बुझ्दै आएको उचाइ ८८४८ मिटर । तर यसमा उतारचढाव आएको भन्ने भनाइहरु धेरै आए । 

त्यसकै मापनका लागि चढेको नापी विभागको प्राविधिक टोली मौसममा कुनै समस्या नआए बुधबार  बिहान सगरमाथाको चुचुरोमा पुग्ने भएको छ ।
 
सोमबार  साउथ कोलमा पुगेको टोली मंगलबार बेलुका सगरमाथाको चुचुरोतर्फ लाग्ने नापी विभागका सगरमाथा उचाई मापन सचिवालयका प्रमुख सुशील डङ्गोलले बताए  ।  

टोली शुक्रबार राति आधार शिविरबाट चुचुरोतर्फ प्रस्थान गरेको थियो । आज बेलुका साउथ कोलबाट सगरमाथाको  चुचुरो तर्फ लाग्ने टोली भोली बिहानसम्म  पुग्ने अनुमान गरिएको छ । 

मापन टोली सोमबार सगरमाथाको साउथ कोलमा पुगेर विश्राम गरेको जानकारी आधारशिबिरबाट आएको सचिवालयका प्रमुख सुशील डङ्गोलले  जानकारी दिए । 

विभागका २ प्राबिधिक सहित ५ जनाको टोली 
नापी विभागका प्राविधिक खिमलाल गौतमको नेतृत्वमा पाचजना मापनका लागि सगरमाथा आरोहण गरिरहेका छन् ।  प्राबिधिक गौतम तथा रबिन कार्की ,सहयोगी तीनजना शेर्पा र एक गाइड गरी पाचजना त्यसतर्फ लागेका छन । 

आधार शिबिरसम्म सगरमाथा उचाईका लागि चारजना कर्मचारी पुगेकोमा दूई जनामात्रै सगरमाथाको उचाइतर्फ लागेका हुन् । चारजना कर्मचारीको टोली काठमाडौँबाट चैत २७ गते आधार शिविर पुगेको थियो । मापनका लागि गएको टोलीले करिब एक महिनासम्म त्यहाँको वातावरणमा आफूलाई अनुकूलन गराएका थिए । 

सगरमाथा मापनका लागि जीएनएसएस रिसिभर र जीपीआर नाम गरेका उपकरण चुचुरोमा लगिदैँछ । उपकरणसहित चुचरोमा पुगेको टोली र नियन्त्रण बिन्दुमा रहने प्राविधिकबीच एउटै समयमा नाप लिनुपर्ने हुन्छ । 

यसका लागि सगरमाथाको आठवटा बिन्दूमा मापन गर्ने कार्य भइरहेको छ । सगरमाथाको लेबलिङ्ग सर्बेक्षणका लागि सोलुखुम्बु, पिके, पाताले र छुल्याम्हमा काम भइरहेको छ । 

यसका लागि तल रहेका आठवटा बिन्दुमा पनि प्रावधिक खटिएका छन् । नियन्त्रण विन्दुमा भएका प्राविधिक र चुचुरोमा भएकाबीच स्याटेलाइटबाट सूचना आदानप्रदान र सम्पर्क हुने व्यवस्था मिलाइएको छ । 

उच्च हिमाली क्षेत्रमा जीएनएसएस सर्बेक्षणको काम सम्पन्न
उच्च हिमाली क्षेत्रमा जीएनएसएस सर्बेक्षणको काम सम्पन्न भइसकेको छ भने ग्रयाभिटी सर्बेक्षणको काम बाकी रहेको नापी बिभागले जनाएको छ । यो बर्ष लेबलिङ्गको काम जेठ अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको बिभागका डंगोलले बताए । 

समुन्द्री सतहदेखि सुरु गरिएको मापन कार्यले सगरमाथाको चुचुरोसम्म पुगेपछि पूर्णता पाउनेछ । यकिन उचाइ भने छ महिनापछि मात्र निस्कनेछ । भारत, चीन लगायतका राष्ट्रले धेरैपटक मापन गरिएपनि  नेपाल सरकारका तर्फबाट पहिलोपटक सगरमाथाको उचाई मापन गरिएको हो ।