ताजा समाचार

जेठ ५ गते २०७६

नेपालमै पहिलो पटक प्रादेशिक स्तिरिय प्यासिफिक अभ्यास पोखरामा सुरु

नेपाली सेना र युएस आर्मी प्यासिफिकको संयुक्त आयोजनामा आइतबारदेखि पोखरामा विपद् प्रतिकार्य अभ्यास र सहयोग आदानप्रदान कार्यक्रम शुरु भएको छ।

विपद् जोखिम न्यूनीकरणमा सहकार्यको महत्वपूर्ण भुमिका रहने वाताबरण सिर्जना गर्नका लागी अमेरिका, बेलायत, थाइल्याण्ड, मङ्गोलिया, श्रीलङ्का, बङ्गलादेशलगायत विभिन्न १३ राष्ट्रका प्रतिनिधिलाई आमन्त्रण गरिएको नेपाली सेनाका विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी जीतबहादुर गुरुङले बताए ।

उनकाअनुसार ‘सप्ताहव्यापी कार्यक्रममा विपद् व्यवस्थापन’ विषयक प्रस्तुति, समूहगत छलफलका साथै विपद् प्रतिकार्यका विभिन्न अभ्यास गरिनेछ। नेपाली सेना र युएस आर्मी प्यासिफिकको सहकार्यमा सन् २०११ देखि हालसम्म चार वटा विपद् प्रतिकार्य अभ्यास र सहयोग आदानप्रदान कार्यक्रम भएको जानकारी दिँदै उनले प्रादेशिक संरचनामा पहिलोपटक पोखरामा यस किसिमको अभ्यास गर्न लागिएको बताए।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले भौगोलिक अवस्थितिसमेतका आधारमा नेपाल प्राकृतिकरुपमा विपद् जोखिमयुक्त क्षेत्र भएको बताउँदै यहाँका सम्भावित जोखीम न्यूनीकरणमा यस किसिमका अभ्यास उपयोगी बन्ने विश्वास व्यक्त गरेका थिए।