ताजा समाचार

जेठ ३ गते २०७६

पार्टीभित्रै हराउनेहरु बलशाली भएकाले कांग्रेस संकटमा फस्यो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई चुनावमा हराउनेहरु आफूविरुद्ध उभिएको आरोप लगाएका छन् ।

शुक्रबार काठमाण्डुमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सभापति देउवाले चुनावमा पार्टीलाई हराउनेहरु पार्टीभित्र बलशाली भएकाले पार्टी संकटमा फसेको गुनासो गरेका हुन् ।

उनले आफूमाथि आरोप लगाउन छोडेर आउँदो चुनावमा पार्टीलाई जिताउने गरी काममा जुट्न पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । निर्वाचनमा पार्टीलाई हराउने अन्तरघातीहरुलाई कारबाही गर्न समेत आफूले पार्टीका नेताहरुबाट सहयोग नपाएको गुनासो पनि गरे ।

दुई कम्युनिष्ट पार्टी मिल्दा पार्टीले हारेको दोहोर्‍याउँदै सभापति देउवाले त्यो हारको दोष आफूलाई मात्रै लाउने गरेकोमा आपत्ति जनाए । उनले आफूलाई मात्रै आरोप लगाएर पार्टीका नेताहरुले गैरप्रजातान्त्रिक गतिविधि गरिरहेको आरोप पनि लगाए ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता सिटौलाले पार्टीलाई आन्तरिक कलहबाट मुक्त गराउन सभापति देउवासँग माग गरे । उनले पार्टी कमजोर हुनुको जिम्मेवारी पार्टी नेतृत्वको लिनुपर्ने पनि बताए । नेता सिटौलाले पार्टी भित्र गुट हुनु स्वभाविकै भए पनि कलह चाहिँ हुनै नहुने पनि स्पष्ट पारे ।