अन्य जनवर्गीय संगठन र पार्टी एकतामा बनेको मापदण्ड विपरीत नेतृत्व छानेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा असन्तुष्टि देखिएको छ । नेकपा सचिवालयले बिहीबार विद्यार्थी संगठनको संयोजक ऐन महर र रञ्जित तामाङलाई सहसंयोजक तोकेको थियो ।
महर तत्कालीन एमाले सम्बद्ध अनेरास्ववियुका महासचिव हुन् । अनेरास्ववियु अध्यक्ष नविना लामा समानुपातिक सभासद् चुनिएपछि वरिष्ठ उपाध्यक्ष रश्मि आचार्यले कार्यवाहक अध्यक्ष भएर काम गर्दै आएका थिए । आचार्यलाई पाखा लगाउँदै प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले महासचिव ऐन महरलाई संयोजक बताए ।
यसबाट असन्तुष्ट बनेको वरिष्ठ उपाध्यक्ष आचार्यले फेसबुकमा लेखेका छन्, ‘अध्यक्ष नहुने भए उपाध्यक्षलाई बनाउनुपर्नेमा अनेरास्ववियूमा एकैचोटी महासचिवमा पो झरेको भन्ने सुनियो । अध्यक्षपछि रोल नं। २ उपाध्यक्षको हो भन्ने कुरा स्वयंसिद्ध होइन र ?’
साबिक माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ पनि सहसंयोजक तोकिएकोमा असन्तुष्ट छन् । महासचिवको संयोजक र आफू सहसंयोजक भएर नबस्ने भन्दै उनले राजीनामा दिने तयारी गरेका छन् ।
नेकपाले अन्य जनवर्गीय संगठनको संयोजक पहिले अध्यक्ष जो थियो उसैलाई तोकेको छ । तर महासचिवलाई एकैपटक संयोजकको जिम्मेवारी दिइएको विद्यार्थी संगठनमा मात्र हो ।




