ताजा समाचार

जेठ ३ गते २०७६

चोरी आरोपमा कुटिएका सैनिक जवानको मृत्यु

चोरी आरोपमा स्थानियबासीबाट कुटिएका एक सैनिक जवानको मृत्यु भएको छ ।

बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंहको उपचारको क्रममा राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको हो ।

नेपाली सेनाको सङ्खुवासभाको खाँदबारीस्थित गणमा कार्यरत सैनिक जवान सिंह बिदामा घर आएका बेला गत वैशाख २८ गते तेनुवापट्टीका स्थानीयवासीले चोरी गरेको भन्दै बिजुली पोलमा बाँधेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका सैनिक जवान सिंहको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

घटनालगत्तै तेनुवापट्टी गाउँका अधिकांश पुरुष गाउँ छाडेर भागेका छन् । गाउँमा महिला मात्रै रहेको र पुरुष नभेटिएकाले कसैलाई पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ । घटनामा संलग्नहरुको खोजी कार्य तीव्ररूपमा भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।